सप्तरी, २६ फागुन । सप्तरीमा अध्यक्षकै निर्देशनमा छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ ।

सप्तरीको सबैभन्दा विवादित छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डलको निर्देशनमा कार्यालयमा तालाबन्दी गरिएको हो ।

महिलाहरु ल्याएर अध्यक्ष मण्डलले आफ्नै निर्देशनमा कार्यालयमा तालाबन्दी गराएको स्थानीयको आरोप छ ।

नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकामा आएको रकम भुक्तानी नदिएको भन्दै महिलाहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुणकुमार यादवसहितका कर्मचारीलाई कार्यालय बाहिर जान लगाएर अध्यक्ष मण्डलको निर्देशनमा ताला लगाएको स्थानीय श्याम मण्डलले बताए ।

कर्मचारीका कारण भुक्तानी रोकिएको आरोप लगाउँदै अध्यक्ष मण्डलले कार्यालयमा ताला लगाउन लगाएको उनले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले निमित्त भएको दुई महिना बितिसक्दा पनि अध्यक्षले अख्तियारी नदिएपछि आर्थिक कारोबार ठप्प भएको बताए ।

पालिकाका एक कर्मचारीका अनुसार अध्यक्ष मण्डलले मनोमानी तरिकाले गरेको ४ करोड रुपैयाँको भुक्तानीको चेक पहिला दिएमात्र अख्तियारी दिने भनेपछि समस्या बल्झिँदै गएको हो ।

अध्यक्षका अनुसार ४ करोड रुपैयाँ भुक्तानी दिन कानुनले नमिल्ने कर्मचारीहरुले बताएपछि आफ्नो निर्देशनमा ताला लगाएको बताए ।