जनकपुरधाम, २५ फागुन । मधेस प्रदेशमा निकै बलियारुपमा रहेका एकीकृत प्रगतिशील इन्जिनियर समूहका उपाध्यक्ष कार्तिकेश झाले आफुहरुको जित सुनिश्चित रहेको दावी गरेका छन् ।

उनले लोकतान्त्रिक, विकास, एकीकृत आविष्कारक, अन्तर्राष्ट्रियकरण र मर्यादा तथा रोजगार सिर्जनाका लागि हाम्रो आवश्यकता अपरिहार्य रहेकाले जित सुनिश्चित रहेको दावी गरेका हुन् ।

उनले इन्जिनियरिङ्ग क्षेत्रमा रहेका विभिन्न प्रकारका विकृति विसंगतिको अन्त्यसंगै नयाँशिराले अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको बताउँदै यूवामा पुस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

कोषाध्यक्षका उम्मेदवार अञ्जुकुमारी यादवले मुलुकमा इन्जिनियरको आवश्यकता अत्याधिक रहेपनि राज्य र सम्बन्धित निकायले सो जनशक्तिको समुचित व्यवस्थापन गर्न नसक्दा यूवा इन्जिनियर र राज्यको समेत हालबेहाल रहेकाले नेपाल इन्जिनियर्स एशोसिएसनले सबै समस्याको सामाधान गर्न सक्षम रहेकाले हाम्रो भुमिका महत्वपूर्ण रहेको बताए ।

उनले विगतदेखि समावेशीको रटान जप्नेहरुले समेत समावेशीलाई ख्याल नै नगरी महिलालाई बेवास्ता गरेकाले कोषाध्यक्षमा समूहको तर्फबाट आफूले उम्मेदवारी दिएको भनिन् ।

मधेस प्रदेशबाट केन्द्रिय सदस्यका उम्मेदवार संजयकुमार यादवले यस प्रदेशमा एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धनको बाहुल्यता रहेकाले स्वतः जित सुनिश्चित रहेको दावी गरे । यादवले मधेस प्रदेशमा आफूहरुतर्फ इन्जिनियरहरुको रुझान रहेकोले अत्याधिक बहुमतले जित्ने दावी गरे ।

एसोसिएसनको ७ वटै प्रदेशका साथै केन्द्रिय कार्यकारिणी समितिका लागि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत समाजवादी निकटका नेपाल राष्ट्रिय इन्जिनियर संगठन, सोसलिस्ट इन्जिनियर एशोसिएसन नेपाल र नेपाल इन्जिनियरिङ्ग समाज मिलेर एकीकृत प्रगतिशील इन्जिनियर समूह गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

केन्द्रिय कार्यकारिणी समितिका लागि अध्यक्ष पदमा डा.हरिराम पराजुली, उपाध्यक्षमा न्हसला तुलाधर, महासचिव डा.शंकर ढकाल, उपमहासचिवमा डा.समित थापा, कोषाध्यक्षमा श्याम नारायण चौधरी र सहकोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै मधेस प्रदेशको नेतृत्वका लागि एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट सभापतिमा राजेश यादव, मधेस प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा संजयकुमार यादव, प्रदेश उपसभापतिमा कार्तिकेश झा, सचिवमा रामनारायण यादव, सहसचिवमा राजिव साह, कोषाध्यक्षमा अञ्जुकुमारी यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

त्यस्तै सदस्यहरुमा रविकुमार पटेल, दयानन्द साह, विशालकुमार झा, सोनाली ठाकुर, जितेन्द्रकुमार यादव, प्रविणकुमार यादव, कुन्दन कुमार ठाकुर,अमितकुमार यादव, प्रदिपकुमार यादव र रोशनीकुमारी झा पनि चुनावी प्रतिस्पर्धामा छन् ।