महोत्तरी, २५ फागुन । महोत्तरीको भंगहा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।

मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत सातौं दिन महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली पुग्नेभएपछि स्वागतमा बिहीबार सार्वजनिक विदा दिइएको हो ।

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए ।

बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ ।

कञ्चनवनमा प्रत्येक वर्ष ‘कञ्चनवन होली महोत्सव’को आयोजना हुँदै आएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ । त्यसपछि कल्याणेश्वर हुँदै शनिबार परिक्रमा यात्रीहरु फुलहर, आइतबार मटिहानी, सोमबार जलेश्वर, मंगलबार मडई र बुधबार ध्रव्रकुण्ड पुगेका छन् ।