सरकारले चाहे भने रेलसेवा तत्काल सञ्चालन गर्न सकिन्छ : महाप्रबन्धक झा

जनकपुरधाम, २५ फागुन । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सरकारले चाहे भने जयनगर–कुर्था रेलसेवा तत्काल सञ्चालन गर्ने सक्ने बताएका छन् ।
जयनगर–कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयारी पूरा भएर गत पुसमा नै रेल परिक्षण भइसकेको छ । तर, यात्रु आवागमनको लागि भने रेल सञ्चालनमा आएको छैन ।
महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको जानकारी दिए । रेल्वे कम्पनीले रेल सञ्चालनको लागि भाडा निर्धारण तथा कानुन समेत बनाइ सकेको झाको भनाइ छ ।
रेल्वेसेवा अहिले सञ्चालनमा आउँछ भनेर उत्साहित रहेको भन्दै उनले रेल्वे चल्न सुरु भएसँगै यात्रुलाई यातायातमा सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी पनि गरे ।
महाप्रबन्धक झाले कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनको लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।
उनले भने,‘रेल सञ्चालनको लागि रेल विभागले पनि नजिकबाट सहयोग गरिरहेको छ । नेपाल सरकारले विगतदेखि निरन्तर रूपमा सहयोग गर्दै आएको छ । पछिल्लो समय केही प्राविधिक समस्या भए पनि सरकारले चाहेको खण्डमा रेल सञ्चालन गर्न सक्छौं । कम्पनी सुरुमा स्थापित हुन सरकारको लगानी चाहिन्छ । रेल कम्पनी शुरुवाती चरणमा भएकाले सरकारले सहयोग गर्नु पर्छ । घाटामा जाँदैन भन्ने विश्वास छ ।’
दुई वर्षअघि भारतीय रेल्वे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरी नेपाल ल्याइएको रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


