मोरङ, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकिसकेको नेपाली कांग्रेसको रुखलाई बचाउन हरियो रंगको मतपत्र बनाउन लागिएको आरोप लगाएका छन् । बुधबार मोरङमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चुनाव चिह्न हरियो राख्दै कांग्रेस बौरिन नसक्ने बताए ।

उनले निर्वाचन आयोगले चुनाव चिन्ह् हरियो राख्ने निर्णय सच्याउनुपर्ने बताए । ‘अब रुख बचाउन हरियो रंगको मतपत्र बनाउने रे । चुनाव चिन्ह् हरियो राख्दैमा कांग्रेस बौरिने हो र ? राख्ने भने रातो बनाऔँ । रुख पनि रातै राखौँ, हरियो प्रस्ट देखिन्छ कि रातो ? निर्वाचन आयोगले त्यो निर्णय सच्याओस’ उनले भने ।

अध्यक्ष ओलीले कांग्रेससँग विकासका लागि कुनै एजेन्डा नरहेको दाबी गरे । उनले अहिले भएका विकास काम सबै एमालेका पालमा भएका बताए । उनले मतदाता सामू यो काम गरेँ भनेर देखाउने काम नै नभएको उनको भनाइ छ । कांग्रेसले चुनावमा जाँदा एमसीसीबारेमा प्रस्ट पार्ने र एमालेको विरोध गर्नेबाहेक अरू एजेन्डा नभएको उनको तर्क छ ।