मन्त्री यादवबिरुद्ध रौतहट प्रहरीलाई कर्णको उजुरी

जनकपुरधाम, १३ माघ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवबिरुद्ध उजुरी परेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सार्वजनिक ठाउँमा ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवबिरुद्ध हुलाक मार्फत रौतहट प्रहरीलाई जाहेरी पठाइएको हो ।
५ दलिय सत्ता गठबन्धनका नेता एवम् संविधानसभा सदस्य रञ्जित कर्णले मन्त्री यादवलाई कारवाही गर्नुपर्ने माग गर्दै हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएका हुन् ।
कर्णले भने,‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा उनीहरुले लिन मानेनन्, पछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको हुँ ।’
‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन गएको थिएँ,’उनले भने,‘तर प्रहरीले घटना रौतहटको रहेकाले यहाँ दर्ता नहुने भनेपछि हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको छु ।’
‘मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रिय सम्प्रदायीक दंगा फैली दुई समुदायबीच राष्ट्रिय एकता समेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९(४) विरुद्ध रहेकोले ऐ. संहिताको दफा ५(ग) बमोजिम हदैसम्मको कैद र जरिवाना समेत गरी पाउँ–कर्णले पठाएको जाहेरीमा उल्लेख छ ।’
कर्णले मन्त्री यादवलाई पदमुक्त गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ज्ञापन पत्र पठाएका छन् । मन्त्री यादवलाई पदमुक्त गर्दै कानून बमोजिम कारवाही गर्न कर्णले अनुरोध गरेका छन् ।

मन्त्री यादवको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापन पत्रमा उल्लेख छ ।
उनको सो अभिव्यक्तिलाई नेपालको संविधानले अपराधी देख्ने भएको हुँदा तत्काल मन्त्री पदबाट बर्खास्त गर्दै कानुन बमोजिम कारवाही गर्न ज्ञापन पत्रमार्फत अनुरोध गरिएको छ ।
मन्त्री यादवले माघ ५ गते बलिदानी दिवसको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


