जनमत पार्टीले गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न प्रदेश सरकारको निर्देशन

जनकपुरधाम, १२ माघ । मधेस सरकारले डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार जनकपुरधाममा गरेको अराजक क्रियाकलाप घटनाको छानविन गर्न निर्देशन दिएको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन र पीडितलाई क्षतिपुर्ति एवम् दोषीउपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
‘पूर्व घोषित विरोधका कार्यक्रमहरु नरहेको अवस्थामा पनि प्रदेश सभा सदस्य अशोक यादव, हरिवन नगरपालिका मेयर, उपमेयर, जलेश्वर अस्पतालका मेसु डा.सतिश साह लगायतका व्यक्तिहरूमाथि गरिएको साङ्घातिक आक्रमण एवम् सवारी साधनमा गरिएको तोडफोड घटनाको वास्तविक छानविन गरी सम्बन्धित जनप्रतिनिधि एवम् चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवम् दोषी उपर कार्वाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ’ प्रदेश सरकारको विज्ञप्तिमा भनिएको छ ।
बुधबार जमत पार्टीका कार्यकर्ताले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका जनप्रतिनिधिको ७ वटा गाडीमा तोडफोड गरेका छन् ।तोडफोडमा संलग्न जनमत पार्टीका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको औरही गाउँपालिका–५ बस्ने ३० वर्षीय बिमलेश मण्डल, सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने २८ वर्षीय पप्पु पंजियार, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ३१ वर्षीय सुशील कुमार मण्डल, सिरहाको सुखिपुर नगरपालिका–४ बस्ने २२ वर्षीय जिवछ यादव, सप्तरीको बोदेबर्साइन नगरपालिका–१ बस्ने १८ वर्षीय अर्जुन साह, महोत्तरीको एकडारा गाउँपालिका–४ बस्ने ३५ वर्षीय राम विदेही पासवान र सर्लाहीको कविलासी नगरपालिका–२ बस्ने ३० वर्षीय सुवेध मण्डल रहेका छन् ।
उनीहरुले गरेको आक्रमणबाट प्रदेश सभा सदस्य अशोक यादव, जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश कुमार साह, सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


