जनकपुरधाम, १२ माघ । मधेस प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बनेको छ ।

तथ्यांक विभागले बुधबार बिहान सार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेस प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।

मधेसपछि सबैभन्दा बढी जनसंख्या भएको प्रदेशमा बागमती प्रदेशको नाम आएको छ । बागमतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

नयाँ जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।