आठ जिल्लामामात्रै मधेस सीमित नरहेको अध्यक्ष ठाकुरको जिकिर

जनकपुरधाम, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ जिल्लामामात्रै मधेस सीमित नरहेको बताएका छन् ।
सोमबार जनकपुरधाम पुगेका अध्यक्ष ठाकुरले पार्टीको अगुवा नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस रहेको जिकिर गरे ।
उनले भने,‘मधेस नामकरणबाट इतिहास रचिएको छ । तर, मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन । पूर्वदेखि पश्चिमसम्म मधेसी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेस हो । तर एक राज्यको रूपमा तपाईंहरूले मान्यता प्राप्त गर्नुभएको छ ।’
ठाकुरले राष्ट्रका लागि भाषा र संस्कृतिमात्र पर्याप्त नभएर आफ्नो राज्य पनि जरूरी रहेको उल्लेख गरेका छन् । ‘राष्ट्रको परिभाषाअनुसार भाषा र संस्कृतिमात्रै पर्याप्त हुँदैन,’ उनले भने,‘पूर्णरूपमा राष्ट्र बन्न उसको आफ्नो राज्य पनि चाहिन्छ । त्यो हामीले प्राप्त गरिसकेका छौं ।’
राज्य प्राप्त गरे पनि स्वायत्तताको संघर्ष जारी रहेको उनले उल्लेख गरेका छन् । अहिले पनि सबै अधिकार केन्द्रमातहत नै रहेकोले स्वायत्तता प्राप्त हुन नसकेको उनको भनाइ छ ।
‘स्वायत्त मधेस प्रदेश बनाउने सरकारसँग भएको हाम्रो सम्झौता अझै पूरा भएको छैन । मधेसमा स्वायत्तताको कमी छ,’ ठाकुरले भने,‘स्वायत्तताको लडाइँ जारी छ । राज्यको रूप भेटिसकेपछि स्वायत्तताका लागि संघर्ष जारी रहन्छ ।’
अहिले पनि सबै कुराका लागि केन्द्रकै मुख ताक्नुपर्ने अवस्था रहेको भन्दै उनले अधिकार सम्पन्न हुन नसकेको जिकिर गरे । ठाकुरले भाषा र भेषभुषाको आधारमा हुने गरेको विभेद कायमै रहेको आरोप लगाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


