जनकपुरधाम, १० माघ । जनता समाजवादी पार्टी निकट महिला संघले जनमत पार्टीविरूद्ध मधेस प्रदेशका जिल्लाहरूमा खबरदारी र्‍याली गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको बचाउ गर्दै महिला संघले जनमत पार्टीविरूद्ध प्रदर्शन गरेको हो ।

महिला संघले गौरमा जनमत पार्टीका कार्यकर्ताहरुले मन्त्री यादवमाथि दुव्र्यवहार गरेकोले प्रदर्शन गरेको जनाएको छ । भाला, लाठी र अन्य घरेलु हतियारको प्रयोग गरी जनमतका कार्यकर्ताले सुनियोजित रूपमा मन्त्री यादवको हत्या गर्ने प्रयास गरेको संघको आरोप छ ।

जसपानिकट महिलासंघले मन्त्री यादवमाथि भएको दुव्र्यवहारको छानबिनगरी गैरराजनीतिक कार्यमा संलग्नलाई कारबाही गर्न मागसमेत गरेको छ ।

महिला संघले मधेश प्रदेशको जनकपुरसहित रौतहट, सप्तरीलगायतका स्थानमा प्रदर्शन गरेको हो ।

माघ ५ गते बलिदानी दिवसका दिन रौतहटमा आयोजित एक कार्यक्रममा गौर नरसंहार दोर्होर्याइदिने अभिव्यक्ति दिएपछि मन्त्री यादवको अहिले सर्वत्र आलोचना भईरहेको छ ।