प्रदेशसभा सदस्यहरु पूर्वाग्रही भई गणितीय तमासा गरे : मैथिली साहित्यकार सभा

जनकपुरधाम, ९ माघ । मैथिली साहित्यकार सभाले मिथिलानगरी जनकपुरधाम र मिथिलाबासीका लागि २०७८ माघ ३ गते स्वर्णिम ऐतहासिक दिन प्रमाणित भएको जनाएको छ ।
मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललनले लगभग साढे ५ हजार वर्षपश्चात पुनः जनकपुरधाम राजधानी हुने गौरव प्राप्त गरेकोले प्रदेशसभाका सभामुख र सम्पूर्ण प्रदेशसभा सदस्यहरुप्रति आभार सहित धन्यवाद ज्ञापन गरेका छन् ।
अर्कोतर्फ मधेस केन्द्रित दलहरुको बाहुल्य रहेको प्रदेशसभाद्वारा प्रदेशको नाम मधेश प्रदेश घोषित गरिएकोप्रति मैथिली साहित्यकार सभाले आपत्ति समेत जनाएको छ । सभाले मात्र ८ जिल्लाको मधेस प्रदेश घोषणा गरिएकोले बाँकी १४ जिल्लाका मधेसी र सहीदहरुलाई अपमानित गरिएको ठहर गरेको छ ।
सभाले ५ हजार वर्षको पौराणिक, ऐतिहासिक, भौगोलिक, सांस्कृतिक पहिचान रहेको ८ जिल्लाको सट्टा मिथिला क्षेत्र (कोशीदेखि पश्चिम र गण्डकीदेखि पूर्वको भू–भाग) लाई बेवास्ता गरिएको जनाएको छ ।
सभापाल ललनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मैथिली सभ्यता, संस्कृति र मैथिली भाषाभाषीको बाहुल्य रहेको यस प्रदेशमा मिथिला राज्यका लागि भएको आन्दोलनमा ५ जनाले शहादतसमेत दिएका छन् । समय समयमा सरोकारबालाहरुद्वारा मिथिला प्रदेश नामकरण गर्नुपर्ने आवाज उठिरहेपनि बहुसंख्यक प्रदेशसभा सदस्यहरु पूर्वाग्रह भई गणितीय तमासा गरेकोले मिथिलामाथि मधेस नाम थुपारिएको छ ।’
आफ्नो मौलिक पहिचान र मिथिलाको पहिचानका लागि संघर्षरत रहन अपिल समेत गरिएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


