पिपरा गाउँपालिका कार्यालयको मुलगेटमा ६ दिनदेखि धर्ना जारी

जनकपुरधाम, ७ माघ । महोत्तरीको पिपरा गाउँपालिकामा सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले गाउँपालिका कार्यालयको मुलगेटमा विगत ६ दिनदेखि धर्ना जारी राखेको छ ।
पिपरा गाउँपालिकामा भएको भ्रष्टाचार, अनियमितता, अपारदर्शिता विरुद्ध उनीहरुले धर्ना जारी राखेका हुन् ।
गाउँपालिकाको कार्यालयमा सूचनाको हक, सुशासन र पारदर्शिता कायम गर्नका लागि समितिमा आबद्ध व्यक्तिहरुले धर्ना दिएको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका स्थानीय नेता विनीत पाण्डेले बताए । गाउँपालिका अध्यक्ष विक्रम चौधरीले एउटा पनि कानून निर्माण नगरी असक्षमता प्रदर्शन गरेको उनको आरोप छ ।
उनले अध्यक्ष चौधरीले स्थानीय कानून नबनाउनु, प्रदेश र संघीय कानूनको कार्यान्वयन र परिपालन नगराउनु, सुशासन कायम नगर्नु, पारदर्शिता नगर्नु, कुशासनलाई बढावा दिनुलगायतका गतिविधिहरु गरेर स्थानीय जनताका लागि अभिशापको रुपमा स्थापित भइरहेको आरोप समेत लगाए ।

गाउँपालिका अध्यक्ष चौधरी भ्रष्टाचारमा आफै संलग्न हुनुका साथै सम्पूर्ण कर्मचारीतन्त्रलाई पनि संलग्न गराएर निकम्मा, गैरजिम्मेवार, गैरजवाफदेही, असक्षम एवं भ्रष्ट अध्यक्षको रुपमा स्थापित भएकोले त्यसको विरुद्धमा खबरदारी गर्न आन्दोलनको शुरुवात गरिएको पाण्डेले बताए ।
समितिले माघ ९ गते आइतबार दिनको १२ बजे गाउँपालिका कार्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरी सशक्त कार्यक्रमहरु लगातार गर्ने निर्णय समेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


