जनकपुरधाम, ७ माघ । धनुषामा टाउको फोडेर हत्या गरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ ।

मृतक महिला धनुषाको मिथिला नगरपालिका–१ लक्ष्मीनिबास बस्ने कामेश्वर महतोको २५ वर्षीया छोरी इन्द्रकला कुमारी महतो रहेको प्रहरीले जनाएको छ ।

इन्द्रकलाको शव धनुषा धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्व–पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैचामा बुधबार साँझ फेला परेको थियो ।

मृतकको टाउकोमा कुनै वस्तुले प्रहार गरिएको घटनास्थलको प्रकृतिले देखिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार इन्द्रकलाको ससुरा घर गौशाला नगरपालिकामा छ । उनी सोमबार बस चढेर माइत आउन लागेकी थिइन् ।

ढल्केवरमै बसबाट ओर्लिएर माइत पुग्नु पर्नेमा त्यहाँबाट कसरी ७ किलोमिटर पूर्वमा उनको हत्या भएको भन्ने बारे केही खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव परीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा लिएर सोधपुछ भईरहेको तथा यसबारे बिभिन्न कोणबाट अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।