जनकपुरधाम, ४ माघ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गरिएको छ ।

वीरगञ्जलाई प्रदेशको राजधानी नबनाएको भन्दै आन्दोलनकारीको एक समूहले मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुङ्गा प्रहार गरेको हो ।

प्रदेशको राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग गर्दै नेपाली काँग्रेस वीरगञ्ज महानगर समितिले निकालेको जुलुसमा सहभागीहरुले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको बताइएको छ ।

ढुङ्गा प्रहारबाट मुख्यमन्त्री राउतको घरको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

जुलसमा गएकामध्येका एक युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेको झ्यालमा सामान्य क्षति भएको उनले बताए ।

मुख्यमन्त्रीको घरमा ढुंगा हानेको आरोपमा वीरगञ्ज–१ छपकैया बस्ने २६ वर्षीय सुमन पटेललाई पक्राउ गरिएको डीएसपी खनालले बताए ।

पक्राउ परेका पटेल नेपाली कांग्रेसको ¥यालीमा सहभागी भएको उनको दावी छ । उनी विरूद्ध अपराधिक उपद्रवको मुद्दा दर्ता गर्ने तयारी भईरहेको प्रहरीको भनाइ छ ।