जनकपुरधाम, ३ माघ । प्रदेशको नामकरण र स्थायी राजधानीका लागि सोमबार भएको मतदानमा ५ जना प्रदेशसभा सदस्यहरु अनुपस्थित रहेका थिए ।

प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्र मतदान प्रक्रियामा सहभागी भए । जबकी प्रदेश २ मा सांसदको संख्या १०४ रहेको छ ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद डिल्ली प्रसाद उप्रेती र सोही पार्टीका सप्तरीको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित गोविन्द बहादुर न्यौपाने सोमबार बसेको प्रदेशसभा बैठकमा अनुपस्थित रहेका थिए ।

त्यस्तै, नेपाली काँग्रेस बाराका सांसद शोभा लामा, नेकपा एमाले धनुषाका अनिता कुमारी यादव तथा जनता समाजवादी पार्टी नेपाल महोत्तरीका सांसद डा. रिना यादव समेत अनुपस्थित रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्ने प्रस्ताव बहुमतका साथ पारित गरेको हो ।

नामकरणका लागि भएको मतदानमा ९९ सांसद सहभागी भएकोमध्ये ८० जनाले मधेशको पक्षमा मतदान गरेका थिए भने ७८ जनाले राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।