जनकपुरधाम, २ माघ । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वेमा गरिएको नयाँ भर्नाको विरोध गरेका छन् ।

मन्त्री यादवले लोक सेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले मनोमानी गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलका नेता समेत रहेका मन्त्री यादवले लोक सेवा आयोगको परीक्षामार्फत कर्मचारी भर्न गर्नका लागि रेल्वे कम्पनीलाई बाध्य पार्नुपर्ने आवश्यकता रहेको बताए । उनले यसका लागि आन्दोलन गर्नुपर्ने जिकिर समेत गरे ।

नेपाल रेल्वे कम्पनी लिमिटेडअन्तर्गत ज्यालादारीमा काममा खटाउने भनिएका १५१ जना कर्मचारीलाई बिनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुरानाहरू आन्दोलित भएका छन् ।

पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी पुस २८ गतेदेखि जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाईरहेका छन् ।

आफूहरूलाई कुनै जानकारी नै नदिई नवनियुक्त महाप्रबन्धक झाले आफूअनुकूलका पार्टीका कार्यकर्तालाई नियुक्त गरी तालिम दिन लागेको पूराना कर्मचारीहरूले आरोप लगाएका छन् ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई हटाएका थिए ।