जनकपुरधाम, १ माघ । धनुषा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका १० लाख बराबरको सामान बरामद गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित मालपोत कार्यालय जाने बाटोमा भारतबाट भन्सार छली ल्याएका साडी, उनि मोजा, टोपी, स्काप, बच्चाको सर्ट, ज्याकेट, मोटरसाईकल गरी २ लाख ४४ हजार ८८० बराबरको सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

त्यस्तै धनौजी गाउँपालिका–१ स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका पितल तथा स्टिलका भाडाकुडाहरू, सुती साडी, तौलिया, लहंगा, सल, बच्चाको विभिन्न किसिमको कपडाहरू र मोटरसाईकल दुई वटा गरी ५ लाख ३२ हजार बराबरको सामानहरू वेवारिसे अवस्थामा बरामद गरेको हो ।

दुबै स्थानबाट बरामद गरेको झण्डै १० लाख बराबरको सरसामान भन्सार कार्यालय जनकपुरधाममा कारबाहीका लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।