जनमत पार्टीद्वारा जनकपुरधाममा किसान महार्याली प्रदर्शन

जनकपुरधाम, ३० पुस । सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रबार जनकपुरधाममा किसान महार्याली प्रदर्शन गरेको छ ।
स्थानीय रामानन्द चोकबाट सुुरु भएको सो र्याली जिरोमाईल, विद्यापति चोक, भानु चोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले हलो, कोदालो, खुर्पा, बाँसका टोकरी, कुचो, झाडुलगायतका सामग्रीहरु बोकेका थिए । सहभागीले कृषीमन्त्री राजीनामा दे, किसानको माग सम्बोधन गर, प्रदेश सरकार र संघीय सरकार मुर्दाबाद लगायतका नारासमेत लगाएका थिए ।

कोणसभामा बोल्दै पार्टीका केन्द्रिय उपाध्यक्ष अब्दुलले किसानको माग सम्बोधन गराउन शनिबारदेखि सरकार विरुद्ध हुने महाआन्दोलनमा सहभागिताका लागि अपिल गरेका थिए ।
उनले एसीमा बसेका बहिरा सरकारलाई किसानको समस्या बारे केही थाहा नरहेको र यिनीहरुले आफूहरुको आन्दोलन भांड्न लागि परेकोले किसान विरोधी सरकारसँग आफ्नो अधिकारका लागि तयार रहन आग्रह समेत गरे ।
उपाध्यक्ष अब्बदुलले यो सरकारले किसानको समस्या समाधान नगरे सत्तामा बसेकाहरुलाई जनकारवाही गर्न सहभागीसँग अपिल गरे ।
पार्टीका जिल्ला सचिव विजय साहले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई र नेपाल सरकारलाई विभिन्न माग सहित ज्ञापन पत्र समेत बुझाएका छन । उनीहरुले ११ बुँदे मागसहितको ज्ञापन पत्र प्रजिअ पौडेलमार्फत नेपाल सरकारलाई बुझाएका हुन । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाई लगायतका मागसहित ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्रमा पक्राउ परेका आफ्ना जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताको रिहाई र आन्दोलनमा घुसपैठ गरी गाडी जलाउनेहरुलाई कारवाही नभए कडा आन्दोलनमा उत्रने र त्यसको जिम्मेवार नेपाल सरकार तथा स्थानीय प्रशासन स्वयं हुने चेतावनी दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


