नयाँ कर्मचारीलाई सात दिनभित्र नहटाइए चरणवद्ध आन्दोलन गर्ने पुरानाको चेतावनी

जनकपुरधाम, २९ पुस । नेपाल रेल्वेका पुराना कर्मचारीहरुले नयाँ कर्मचारीलाई दिईरहेको तालिम तत्काल रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् ।
पुराना रेल्वे कर्मचारी संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
ज्ञापन पत्र बुझ्दै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पूर्व कर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरे ।
रेल्वेका पुराना कर्मचारीहरुले बुधबार तालिम स्थलमा विरोध प्रदर्शन गरेका थिए । आफूहरुलाई बिनाजानकारी हटाएर नयाँलाई नियुक्त गरी तालिम दिन थालिएपछि पुरानाहरू आन्दोलित भएका छन् ।
पुराना कर्मचारीलाई हटाएर नयाँ ५५ जनालाई नियुक्त गरी जनकपुरधाममा तालिम दिन थालिएपछि उनीहरूले तालिमस्थलमै गएर विरोध जनाएका हुन् ।
नेपाल रेल्वेलाई कानुनी तथा प्राविधिक कारण देखाइ जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासि सूचना निकालेर नवनियुक्त महाप्रबन्धकले हटाएपछि उनीहरूले आफूहरूलाई पुनः समायोजन गर्न माग गरेका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दैनिक ज्यालादारीमा कामकाजमा नियुक्त गरिएका कर्मचारीलाई कुनै समन्वय नै नगरी हटाउनु आफूहरूलाई कदापी मान्य नहुने उनीहरुले बताएका छन् ।
रेल्वे सञ्चालनका लागि पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईले १५१ जना ज्यालादारी कर्मचारीलाई नियूक्त गरेपनि उनीहरुलाई नवनियुक्त महाप्रबन्धक निरञ्जन झाले पछि हटाएका थिए ।
नवनियूक्त महाप्रबन्ध झाले रेल्वे सञ्चालनका लागि ५५ जनालाई ज्यालादारीमा नियूक्त गरी तालिम दिईरहेका छन् ।
नेपाल रेल्वेले गेट म्यान, ग्यांग म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका लागि ५५ जनालाई तालिम दिईरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


