जनकपुरधाम, २९ पुस । आगामी माघ २ गते आइतबारका लागि प्रदेश २ को प्रदेशसभा बैठक बोलाइएको छ ।

आइतबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा स्थायी राजधानी र नामको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।

प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि गत पुस १३ गते सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको थियो ।

सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३(क) को उपनियम ९ र नियम ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नामकरण र राजधानीको प्रस्ताव अध्ययन गर्न दलिय सहमतिको आधारमा समिति गठन गरेका थिए ।

प्रदेशको नामाकरण र राजधानीका लागि प्रदेशसभामा पेश भएको प्रस्ताव अध्ययन तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरी निर्णयार्थ पेश गर्न समितिलाई १५ दिनको समयावधि निर्धारण गरिएको थियो ।

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर, कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।

मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत हुने जोखिम छ । नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।

जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक हुन्छ ।

अन्य प्रस्तावहरू जानकीको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ जना, १९ सांसद रहेको कांग्रेसले मिथिला भोजपुरा गरेका छन् भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा छन् ।

प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवले माघ पहिलो सातामै मतदानबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति गरेको बताए ।

प्रदेशसभामा पेश भएका प्रस्तावहरूमध्ये कुनैमा पनि सहमति नभएपछि अब मतदान गरिने उनले जानकारी दिए ।

प्रदेशको नामकरणका लागि ‘मधेश प्रदेश’,‘मिथिला–भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ प्रस्ताव पेश भएको छ । त्यस्तै नामका लागि जनकपुरधाम र वीरगञ्ज प्रस्ताव पेश भएको हो ।