जनकपुरधाम, २७ पुस । जनता समाजवादी पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको बर्दिवासमा जारी छ । सोमबारदेखि सुरु भएको सो प्रशिक्षण कार्यक्रम बुधबारसम्म चल्नेछ । कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुको मात्रै उपस्थिति देखियो ।

पार्टीमा अध्यक्ष यादवको हैकमवादी चरित्र हावी हुँदै गईरहेको भन्दै बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर नेताहरु सो प्रशिक्षण कार्यक्रम बहिष्कार गरेका छन् ।

पार्टी भित्रको आन्तरिक कलहकै कारण प्रदेश २ मा सुरु भएको प्रशिक्षण कार्यक्रम डा. भट्टराई र महेन्द्र यादव पक्षधर नेता कार्यकर्ताहरुले वहिष्कार गरेका हुन् । बर्दिवासमा जारी प्रशिक्षण कार्यक्रममा विभिन्न ११ वटा विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

सोमवारको प्रशिक्षणमा २ विषयमा प्रशिक्षण दिइएको छ भने ९ वटा विषयमा मंगलवार र वुधवार प्रशिक्षण दिएर सम्पन्न हुने जनाइएको छ । तर पार्टी भित्र देखिएको किचलोका कारण प्रशक्षिणमा यादव र भट्टराई पक्षधर नेता कार्यकर्ताहरुले वहिष्कार गरेका हुन् । पार्टी भित्र केही समयदेखि भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीचमा विवाद चुलिएको छ ।

अध्यक्ष यादवले पार्टी भित्र आफुखुशी निर्णय गर्न लागेपछि भट्टराई पक्षधर नेताहरु असन्तुष्ट देखिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव हुन् भने संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई छन् । त्यस्तै, अशोक बरिष्ठ नेता हुन् । महन्थ ठाकुर समूह समेत पार्टीमा रहेको बखत एकै ठाउँमा उभिएका यी नेताहरुबीच अहिले आएर सम्बन्ध चिसिएको छ ।

गठबन्धन सरकारमा जसपाको तर्फबाट मन्त्री छनौट गर्नका लागि जसपाको कार्यकारिणी समितिले अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई र वरिष्ठ नेता राईलाई जिम्मा दिएको थियो । तर, मन्त्रीपरिषद पठाउँदा यादवले आफू निकट नेताहरुलाई मात्रै पठाएको आरोप लाग्यो । राष्ट्रियसभाको निर्वाचनका लागि समेत उम्मेदवार चयनमा यादवले एकलौटी निर्णय गरेको आरोप लागिरहेको छ । २ सिटमा उम्मेदवारी दिएको जसपाले आफ्नो पक्षधर नेताहरुलाई मात्रै पठाएपछि विवाद अहिले उत्कर्षमा पुगेको छ । यादवले निर्णय गर्दा पार्टीमा सामुहकि रुपमा छलफल नगर्ने र आफु खुसी निर्णय गर्ने गरेकाले पार्टी भित्र किचलोको कारण बन्न पुगेको हो ।

स्रोतका अनुसार, पार्टी विभाजन हुँदा यादवले इस्तियाक राईदेखि प्रदीप यादवसम्मलाई मन्त्री बनाउने आश्वासन दिएका थिए ।तर,सरकारमा अरूलाई नै पठाएपछि राई, यादव समेत असन्तुष्ट देखिएका छन् ।

संघीय परिषद् अध्यक्ष भट्टराईको सिफारिसमा एक जनालाई पनि मन्त्री नबनाएपछि जसपाभित्र असन्तुष्टि चुलिएको थियो । कार्यकारी निर्णयको अधिकार यादवमा मात्रै रहँदा अन्य नेताहरु निरीह हुन थालेपछि यादवविरुद्ध मोर्चा बन्दी शुरु भएको छ ।

इस्तियाक राई, प्रदीप यादव, राजकिशोर यादव मात्रै होइन, कृषिमन्त्री महेन्द्र यादव समेत उपेन्द्रको एकलौटी गर्ने प्रवृत्तिको विरुद्ध उभिएका छन् । जसले पार्टीमा भट्टराई, अशोक राईहरू बलियो हुँदै गईरहेका छन् ।

जसपाको केन्द्रमा देखिएको दुई कित्ताबिचको विवाद अहिले आएर प्रदेशस्तरसम्म समेत पपुगि सकेको छ ।

जसपाको प्रादेशिक प्रशिक्षण कार्यक्रममा सहभागी नहुनेमा जसपा प्रदेश समितिका उपाध्यक्ष सुशिल यादव समेत हुन् । उनले प्रदेश समिति स्वायत्त छ भने उसले कुन नेतालाई बोलाउने, कसलाई नबोलाउने विषयमा निर्णय गर्ने अधिकार हुनु पर्ने बताए । तर केन्द्रिय अध्यक्षजीको एकलौटी निर्णयका कारण समस्या निम्तिएको नेता सुशिलले आरोप लगाए ।

उनले भने ‘पार्टी संगठन स्वायत्त हो भने उसलाई स्वायत्तताका आधारमा काम गर्न दिनु पर्छ तर त्यो नदेखिएकाले आफुहरु त्यो प्रशिक्षणमा सहभागिता नजनाएका हौँ ।’ यादवले पार्टी उन्नत किसिमको लोकतन्त्रको पक्षमा छ भने त्यही अनुसार व्यवाहार पनि देखाउनुपर्नेमा जोड दिए ।

स्रोतका अनुसार प्रशिक्षण कार्यक्रममा भट्टराईलाई नबोलाइएपछि कयौँ नेताहरुले प्रशिक्षण कार्यक्रमलाई बहिष्कार गरेका हुन् । स्रोतका अनुसार पार्टी विधानमा दुई वटा अध्यक्षको व्यवस्था रहेको छ । भटटराई पक्षधर नेताहरु भट्टराईलाई अर्को अध्यक्षको जिम्मेवारी दिएर अध्यक्ष उपेन्द्र यादवको हैकमवादी चरित्रलाई रोक्नु पर्नेमा नेताहरुको जोड छ तर यादव पक्षधर नेताहरु भने भट्टराईलाई त्यो पद नदिएर विधान संसोधन गरेर एक अध्यक्षको पक्षमा देखिएका छन ।

जसपाको पार्टी समायोजन समेत नभएको अवस्थामा एकलौटी रुपमा यादव पार्टी भित्र अगाडी बढ्न थालेपछि जसपा पार्टी नै विभाजन हुने खतरा बढेको छ ।