जनकपुरधाम, २७ पुस । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुखलाई दुव्र्यवहार गरे यता सो कार्यालयको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार भएको घटना पश्चात करीब तीन महिनादेखि कार्यालय प्रमुखको अभावका कारण आर्थिक र प्रशासनिक देखि आयोजनाहरुको सम्पूर्ण कामकाज ठप्प रहेको छ ।

कार्यालय प्रमुखविहिन भएकोले सो कार्यालयमा चालु आयोजनाका सम्पूर्ण कामकाज ठप्प हुनुका साथै कर्मचारीहरु तीन महिनादेखि तलब भत्ता समेत खान पाएको छैनन् भने उनीहरुलाई कार्यालयमा पानी खान समेत समस्या भएको छ ।

आयोजनाका सिनियर इन्जिनीयर गंगा प्रसाद महतोले कार्यालय प्रमुख नहुँदा आयोजनाको कार्य मात्रै ठप्प नभई आफूहरुको तलब भत्ता रोकिनुका साथै पानी खान र गाडी चढन समेत समस्या भएको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा करीब दुई दर्जन चालु आयोजनाको कामका साथै सम्पूर्ण आर्थिक कारोबार ठप्प हुन गएको छ ।सीके राउतका कार्यकर्ताहरुले कार्यालयमा रहेको चारपांग्रे गाडीको रिमोट सहित गाडीमा तोडफोड गर्दा मरम्मत सम्भार हुन नसकेकोले गाडी चढन पनि समस्या भएको छ ।

आयोजनाका अर्का इन्जिनीयर पुष्पराज सिंहले आयोजनाका ठेकेदारहरु दिनहुँ नयाँ कामको सम्झौता, बक्यौता भुक्तानी र चालु आयोजनाको काम सुचारु गर्न धाइरहेको र विगत लामो समयदेखि प्रमुख नहुँदा आयोजनाले तिर्न बाँकी रहेको भुक्तानी रकम, योजना संचालनको लागि दिनुपर्ने पेश्की रकम, नयाँ योजना सम्झौता, मर्मत संभारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलव भत्ता लगायतका कार्यहरु रोकिएकोले निकै समस्या भएको बताए ।

उनले भने,‘तिहार जस्ता पर्वमा हामीले तलब पाउन सकेनौं । निकै विजोग भएको छ । कार्यालय जान गाडीमा आफ्नै पैसाले ईन्धन हाल्नु परिरहेको छ भने पानी समेत घरबाटै लिएर खानुपर्ने अवस्था छ ।’

सिनियर इन्जिनीयर महतोले कार्यालय प्रमुख नहुँदा संचालित आयोजनाको काम र आर्थिक कारोबार ठप्प भएको बिषयमा पटक–पटक सम्बन्धित विभाग र मन्त्रालयमा जानकारी गराउँदा समेत अहिलेसम्म कुनै पनि प्रमुख पनठाएको बताए । विभाग र मन्त्रालयलाई लिखित तथा मौखिक रुपमा जानकारीका साथै आफै गएर कयौं पटक ताकेता गर्दा पनि कुनै चासो नलिइएको गुनासो उनले गरे ।

गएको कात्तिक ४ गतेका दिन जनमत पार्टीका कार्यकर्ताहरुले पार्टी अध्यक्ष सीके राउतको घर जाने बाटोमा बाटो निर्माण नगरेको निहुँमा निमित्त प्रमुख कुशवाहालाई कार्यालयमा दुव्र्यवहार गर्नुका साथै अर्धनग्न गरी जनकपुरधाम बजार क्षेत्रमा नगरपरिक्रमा गराएका थिए ।

कर्मचारी स्रोतका अनुसार निमित्त प्रमुख कुशवाहासँग भएको दुव्र्यवहारको घटना पश्चात यहाँ कुनैपनि कर्मचारी प्रमुखको रुपमा आउन मानिरहेका छैनन् ।