जनमतका कार्यकर्ताद्वारा धनुषामा पनि एक ट्रकमा आगजनी

जनकपुरधाम, १९ पुस । बन्दको उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताहरुले सोमबार धनुषामा पनि एक ट्रकमा आगजनी गरेको छ ।
जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ छघरियामा सो पार्टीका कार्यकर्ताहरुले सोमबार दिउँसो करिब साढे ३ बजेको समयमा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ सिसिबोतल लोड गरी गईरहेको क्रममा ना १ क ७७६९ नम्बरको ट्रकमा प्रदर्शनकारीहरुले आगजनी गरेको डीएसपी बस्नेतले बताए । उनीहरुले जनमत पार्टीले आह्वान गरेको बन्दलाई उल्लंघन गरी ट्रक चलाएकोले आगजनी गरेका थिए ।
प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका धनुषा जिल्ला अध्यक्ष ओम विक्रम कुशवाहा, चन्दन कुमार साह र नविन पण्डित रहेका छन् ।
यसअघि सोमबार बिहान पनि पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै जनमत पार्टीका कार्यकर्ताले एक ट्रकमा आगजनी गरेका थिए । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।
फाइल तस्बिर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


