४५ दिनदेखि अधिकृतविहीन नगरपालिका, दबाब दिन नगर प्रमुखले गरे तालाबन्दी
महोत्तरी, १२ असोज । महोत्तरीको भंगहा नगरपालिका ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाह प्रभावित भएको भन्दै नगर प्रमुख सञ्जीव कुमार साहले नगरपालिका कार्यालय तथा सबै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको तत्काल व्यवस्था गर्न सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यले नगर प्रमुख साहले सोमबार नगरपालिका कार्यालय तथा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि उनले कार्यालयका चाबी महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेका छन् ।
नगर प्रमुख साहका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको नियमित प्रशासनिक तथा वित्तीय कामकाज प्रभावित भएको छ । कर्मचारी तथा पदाधिकारीको तलब भत्ता, सेवा सुविधाको भुक्तानी, विकास निर्माणसँग सम्बन्धित काम तथा नागरिकलाई उपलब्ध गराउनुपर्ने नियमित सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको उनले बताए ।

नगर प्रमुख साहले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका कर्मचारी लामो समयसम्म कार्यालयमा हाजिर नहुँदा नगरपालिका प्रशासनिक रूपमा नेतृत्वविहीनजस्तै बन्न पुगेको बताए ।
उनका अनुसार चाडपर्व नजिकिँदै गएको अवस्थामा कर्मचारी तथा पदाधिकारीले पाउनुपर्ने तलब भत्ता समेत समयमै उपलब्ध गराउन नसक्ने अवस्था आउन सक्ने भएकाले समस्या तत्काल समाधान गर्न आवश्यक छ ।
‘नगरपालिकामा ४५ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत छैनन् । मन्त्रालयले कर्मचारी खटाइसकेको छ । तर, उहाँ हाजिर हुनुभएको छैन । पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको हो,’ नगर प्रमुख साहले भने ।
उनले जनताको सेवा रोक्ने आफ्नो उद्देश्य नभएको स्पष्ट पार्दै सेवा प्रवाहलाई नियमित बनाउन नै तालाबन्दीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन खोजिएको बताए ।
‘जनतालाई सहज र प्रभावकारी सेवा दिनका लागि प्रमुख प्रशासकीय अधिकृत आवश्यक छ । हामीले कसैलाई दुःख दिन वा कार्यालय बन्द गराउन खोजेका होइनौँ । तत्काल अधिकृत पठाएर कार्यालयको काम नियमित गराउन दबाब दिएका हौँ,’ उनले भने ।
भंगहा नगरपालिकाका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाले २०८३ भदौ १ गतेको पत्रमार्फत कर्मचारी संकेत नम्बर १७९५४७ भएका खिमराज भुसाललाई भंगाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो ।

तर, मन्त्रालयको पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर भएका छैनन् । उनलाई हाजिर गराउन सम्बन्धित मन्त्रालयमा पटकपटक जानकारी गराउँदै आवश्यक पहल तथा ताकेता गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिका कारण प्रशासनिक, वित्तीय तथा विकाससम्बन्धी काम प्रभावित भएको भन्दै नगरपालिकाले तत्काल समस्या समाधान गर्न माग गर्दै आएको थियो । यसअघि नगरपालिकाले तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएमा अति आवश्यक सेवाबाहेक सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनीसमेत दिएको थियो ।
नगर प्रमुख साहले अब पनि सम्बन्धित निकायले समस्या समाधान नगरे नगरपालिकाको सेवा प्रवाहलाई नियमित बनाउने विषयमा थप कदम चाल्न बाध्य हुने बताएका छन् । उनले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई तत्काल हाजिर गराई नगरपालिकाको प्रशासनिक तथा वित्तीय कामकाज नियमित गराउन माग गरेका छन् ।


