जनकपुरधाम, ११ असोज । जनकपुरधाम उपमहानगरपालिकाको आगामी नेतृत्वलाई लिएर राजनीतिक वृत्तमा सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएसँगै जनता समाजवादी पार्टी नेपालका नेता सञ्जय कुमार चौधरीको नाम पनि चर्चामा आउन थालेको छ ।

जनकपुरधामको मेयर पदका लागि सम्भावित उम्मेदवारका रूपमा आफ्नो नाम चर्चामा आए पनि आफूले अहिलेसम्म पदका लागि हतार नगरेको चौधरी बताउँछन् ।

पार्टीले आफ्नो क्षमता, योगदान र योग्यतालाई मूल्याङ्कन गरेर उम्मेदवार बन्न उपयुक्त ठानेमा आफू जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ ।

‘म पदका लागि नभई समाजमा परिवर्तनका लागि राजनीति गरिरहेको हुँ । पार्टीले मलाई योग्य ठानेर जिम्मेवारी दियो भने म उम्मेदवार बन्न तयार छु । तर, उम्मेदवारी मेरो व्यक्तिगत निर्णयभन्दा पनि पार्टीको निर्णय र जनताको चाहनासँग जोडिएको विषय हो,’ चौधरीले भने ।

स्वास्थ्य क्षेत्रसँग जोडिएर लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहेको चौधरीले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य उपचारमा आफूले सक्दो सहयोग गर्दै आएको दाबी गर्छन् ।

उणका अनुसार राजनीति चुनाव जित्ने माध्यम मात्र नभई नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने जिम्मेवारी पनि हो ।

‘गरिब नागरिक बिरामी पर्दा उपचार गराउन नसकेर घरमै पीडा सहनुपर्ने अवस्था हुनुहुँदैन । जनप्रतिनिधिले जनताको दुःख बुझ्नुपर्छ । मैले स्वास्थ्य क्षेत्रमा काम गर्दा नजिकबाट देखेको यही पीडाले मलाई सामाजिक र राजनीतिक क्षेत्रमा थप सक्रिय बनाएको हो,’ उनले भने ।

चौधरीले मधेश आन्दोलनदेखि आफूले उठाउँदै आएका अधिकार, समानता र सामाजिक न्यायका मुद्दालाई राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन् ।

उनका अनुसार राजनीतिक परिस्थिति बदलिँदै गए पनि नागरिकका आधारभूत आवश्यकता र सम्मानजनक जीवनको चाहना भने उस्तै छ ।

‘आन्दोलनका बेला सडकमा उठेका मुद्दा आन्दोलनका नारामा मात्र सीमित हुनुहुँदैन । शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सम्मानजनक जीवनमा त्यसको परिणाम देखिनुपर्छ । राजनीति भनेको त्यही परिणाम ल्याउने माध्यम हो,’ चौधरीको भनाइ छ ।

आफ्नो सम्भावित उम्मेदवारीलाई लिएर उठ्ने प्रश्नबारे चौधरीले विद्यार्थी जीवनको उदाहरण दिने गरेका छन् ।

उनका अनुसार विद्यार्थीले वर्षभरि पढाइ गरेपछि परीक्षा आउँदा परीक्षा दिन डराउनु हुँदैन । आफूले जिम्मेवारी लिन सक्ने आधार तयार गरेको व्यक्ति अवसर आउँदा पछि हट्न नहुने उनको तर्क छ ।

‘विद्यार्थीले वर्षभरि पढ्छ, तयारी गर्छ अनि परीक्षा आउँदा परीक्षा दिन डरायो भने उसको तयारीको अर्थ के रहन्छ? मैले पनि सामाजिक र राजनीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो हिसाबले काम गर्दै आएको छु । पार्टीले परीक्षा दिनुपर्ने अवस्था बनायो भने म परीक्षा दिनबाट डराउँदिनँ,’ चौधरीले भने ।

उनले आफूलाई उम्मेदवार बनाउने वा नबनाउने अन्तिम निर्णय पार्टीले गर्ने स्पष्ट पार्दै पार्टीको निर्णयलाई स्वीकार गर्ने बताए ।

‘पार्टीले योग्य ठान्यो भने उम्मेदवार बन्छु, योग्य ठानेन भने पनि पार्टीकै निर्णय स्वीकार गर्छु । मेरो लक्ष्य पद प्राप्त गर्नु नभई जिम्मेवारी पाए त्यसलाई परिणाममा बदल्नु हो,’ उनले भने ।

चौधरीले जनकपुरधामको विकासका लागि योजनाबद्ध र दीर्घकालीन सोच आवश्यक रहेको बताए ।

धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको जनकपुरधामलाई आधुनिक शहरका रूपमा विकास गर्न पूर्वाधार, सरसफाइ, स्वास्थ्य, शिक्षा, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ ।

‘जनकपुरधाम एउटा स्थानीय तह मात्र नभई यो मिथिलाको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको शहर हो । यहाँ आउने मानिसले जनकपुरधामको पहिचानसँगै व्यवस्थित शहरको अनुभूति गर्न सक्नुपर्छ । त्यसका लागि भाषणभन्दा काम र योजनाको परिणाम आवश्यक छ,’ उनले भने ।

उनले नगरको विकासमा नागरिकको सहभागितालाई समेत प्राथमिकता दिनुपर्ने बताए ।

‘नगरपालिका भनेको जनप्रतिनिधि र कर्मचारीको मात्र संस्था होइन । यहाँका प्रत्येक नागरिकको नगरपालिका हो । त्यसैले विकासको प्राथमिकता निर्धारणदेखि कार्यान्वयनसम्म नागरिकको सहभागिता आवश्यक छ,’ चौधरीको भनाइ छ ।

चौधरीले जनकपुरधामको विकासका लागि सुशासनलाई पहिलो सर्तका रूपमा अघि सारेका छन् । सार्वजनिक स्रोतको पारदर्शी उपयोग, सेवाप्रवाहमा सहजता र जनप्रतिनिधिको जवाफदेहितालाई उनले आफ्नो प्राथमिकताका विषयका रूपमा प्रस्तुत गरेका छन् ।

उनका अनुसार नगरपालिकाबाट प्राप्त हुने सेवा लिन नागरिकले अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।

‘जनताले आफ्नो कामका लागि कार्यालय धाउनुपर्ने, एउटै कामका लागि पटकपटक लाइन बस्नुपर्ने र जनप्रतिनिधिलाई भेट्न कठिन हुने अवस्था परिवर्तन गर्नुपर्छ । प्रविधिको प्रयोग गरेर सेवा सरल, छिटो र पारदर्शी बनाउन सकिन्छ,’ उनले भने ।

चौधरीले शिक्षा र स्वास्थ्यलाई नगर विकासको अर्को महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन् ।

विपन्न तथा कमजोर आर्थिक अवस्था भएका परिवारका बालबालिकाको शिक्षा र स्वास्थ्यमा स्थानीय सरकारले थप जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

आफ्नो राजनीतिक यात्रालाई व्याख्या गर्दै चौधरीले पदलाई अन्तिम लक्ष्य नबनाएको दोहोर्याएका छन् ।

‘मेरो लक्ष्य पद नभई परिवर्तन हो । पदमा पुगेपछि पनि जनताको जीवनमा परिवर्तन ल्याउन सकिएन भने त्यो पदको कुनै अर्थ हुँदैन । त्यसैले मैले राजनीतिलाई सेवाको माध्यमका रूपमा लिएको छु,’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिकामा हाल २५ वटा वडा छन् र २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी नगर प्रमुखमा निर्वाचित भएका थिए ।

आगामी नेतृत्वलाई लिएर सम्भावित उम्मेदवारहरूको चर्चा बढ्दै जाँदा सञ्जय चौधरीको नाम पनि त्यही राजनीतिक बहसको एउटा हिस्सा बनेको छ ।