जनकपुरधाम, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले सप्तरीका विभिन्न क्षेत्रमा बाढी तथा जंगली हात्तीका कारण नागरिक प्रभावित भएको भन्दै तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कर्ण सप्तरीबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन् ।

प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कर्णले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सप्तरीका विभिन्न स्थानीय तहमा डुबानको समस्या देखिएको बताए । उनका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकालगायतका क्षेत्रमा खेतबारी तथा बस्ती डुबानमा परेका छन् ।

कर्णले वर्षाका कारण पाँच सयभन्दा बढी घर डुबानमा परेको दाबी गर्दै प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

‘तीन दिनदेखिको अविरल वर्षाका कारण सप्तरीका विभिन्न क्षेत्रमा किसानका खेत डुबानमा परेका छन् । पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । नागरिक पीडामा छन्,’ उनले भने, ‘बाढी प्रभावितलाई आवश्यक राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले सप्तरीको केही क्षेत्रमा जंगली हात्तीको आतंकसमेत बढेको भन्दै किसानले लगाएको बाली नष्ट भएको विषय संसद्मा उठाए । सप्तकोशी नगरपालिकाको कमलपुर तथा कञ्चनरूप नगरपालिकाको बस्तिपुर क्षेत्रमा हात्तीले बाली नष्ट गरेको भन्दै प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनको माग छ ।

कर्णले प्राकृतिक विपद्का कारण एकातर्फ बाढी तथा डुबानको समस्या र अर्कोतर्फ जंगली जनावरबाट कृषि क्षेत्रमा क्षति हुँदा किसान दोहोरो मारमा परेको बताए । त्यसैले क्षतिको यथार्थ विवरण संकलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे ।

सांसद कर्णले संसद्मा मधेश प्रदेशमा सरकारले अघि बढाइरहेका विकाससम्बन्धी कामको पनि चर्चा गरे। उनले वर्तमान सरकारले मधेशमा विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको बताए ।

उनले कमला–कञ्चनपुर सडक, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक, मेडिकल कलेज तथा इन्जिनियरिङ कलेज सञ्चालनको तयारी लगायतका विषयलाई मधेशका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा प्रस्तुत गरे ।

कर्णले मधेशमा शिक्षा, स्वास्थ्य तथा सडक पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने बताए । उनका अनुसार लामो समयदेखि चर्चामा रहेका ठूला विकास आयोजनालाई कार्यान्वयनको चरणमा लैजान सके प्रदेशको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नेछ ।

सांसद कर्णले बाढी, डुबान तथा जंगली जनावरबाट हुने क्षतिजस्ता तत्कालीन समस्याको समाधानसँगै मधेशका दीर्घकालीन विकास आवश्यकतालाई पनि सरकारले सम्बोधन गर्नुपर्ने धारणा राखे । उनले विकास आयोजना अघि बढाउँदा स्थानीय नागरिकको आवश्यकता, कृषि क्षेत्रको संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई समेत प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।