हुंकार मधेशले तोक्यो सहजकर्ता र प्रवक्ता, केन्द्रीय संरचना निर्माणको तयारी तीव्र
जनकपुरधाम, १२ असोज । संगठन विस्तारको तयारीमा रहेको हुंकार मधेशले अभियानलाई संस्थागत रूपमा अघि बढाउन सहजकर्ता र प्रवक्ता तोकेको छ ।
हुंकार मधेशको केन्द्रीय अभियान बैठकले संविधानसभा सदस्य रामकुमार कश्यपलाई सहजकर्ता र केशव कुमारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
संगठनको औपचारिक केन्द्रीय संरचना निर्माण हुनुअघि अभियानका गतिविधिलाई समन्वय, सहजीकरण तथा सम्पर्कका माध्यमबाट व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यले दुई जनालाई जिम्मेवारी तोकिएको हुंकार मधेशले जनाएको छ ।
हुंकार मधेशका अनुसार सहजकर्ताको जिम्मेवारी पाएका कश्यपले अभियानसँग जोडिएका विभिन्न पक्षबीच समन्वय तथा सहजीकरण गर्नेछन् भने प्रवक्ता केशव कुमारले संगठन तथा अभियानका गतिविधिबारे आधिकारिक धारणा सार्वजनिक गर्नेछन् ।
हुंकार मधेशले यसअघि घोषणा गरेको सय दिने मेची–महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न गरेपछि संगठनको केन्द्रीय संरचना निर्माण गर्ने तयारी गरेको छ । अभियानमार्फत विभिन्न क्षेत्रका नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्पर्क र संवाद गर्दै संगठन विस्तारको आधार तयार गर्ने तयारी रहेको जनाइएको छ ।
अभियानपछि संयोजकसहितको केन्द्रीय संरचना निर्माण गरी संगठनलाई थप व्यवस्थित रूपमा अघि बढाउने योजना रहेको हुंकार मधेशले जनाएको छ । त्यसका लागि प्रारम्भिक चरणमा समन्वय र सञ्चारको जिम्मेवारीसमेत तोकिएको हो ।
हुंकार मधेशका प्रवक्ता केशव कुमारद्वारा जारी विज्ञप्तिमा अभियानका विभिन्न विभाग तथा जिम्मेवारीसमेत छिट्टै निर्धारण गरी सार्वजनिक गरिने उल्लेख छ ।
विज्ञप्तिअनुसार आगामी दिनमा संगठनको संरचना विस्तारसँगै विभिन्न विभागलाई जिम्मेवारी प्रदान गरिनेछ । त्यसपछि अभियानका गतिविधिलाई संस्थागत गर्दै हुंकार मधेशको केन्द्रीय संरचनालाई पूर्णता दिने तयारी गरिएको छ ।



