सिरहा, १२ असोज । डकैती, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार तथा खरखजाना र संगठित अपराध मुद्दामा फरार रहेका एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका–५ झिझा टोलका करिब ४० वर्षीय ‘बद्री’ भन्ने अजय पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई विशेष सूचनाका आधारमा बुधबार साँझ सिरहा नगरपालिका–६ स्थित कमला खोलाको आसपासबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पासवानसहित १२ जनाको समूहले २०८२ मंसिर २ गते राति करिब १ बजे कल्याणपुर नगरपालिका–१२ बेल्हा टोलका भोला महतोका छोरा मुकेश कुमार सिंहको घरमा हतियार देखाएर डकैती गरेको थियो ।

उक्त समूहले घरबाट नगद तथा जिन्सीसमेत गरी ९ लाख ७३ हजार ६ सय ५० रुपैयाँ बराबरको धनमाल लुटेको प्रहरीको भनाइ छ । डकैतीपछि भाग्ने क्रममा समूहले बिरेन्द्र महतो र अनिल कुमार महतोमाथि गोली प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घटनापछि समूहका सदस्यहरू फरार रहेका थिए । फरार अभियुक्तको खोजी तथा पक्राउका लागि प्रहरीले अनुसन्धान अघि बढाउँदै आएको थियो ।

यसै क्रममा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले पासवानलाई सिरहा नगरपालिका–६ स्थित कमला खोलाको आसपासमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

पक्राउ परेका पासवानलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पासवानविरुद्ध डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धान सम्पन्न भई सिरहा जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।