जनकपुरधाम, १५ पुस । पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि बिहीबार एक कार्यक्रमका बिच जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा प्रदेशभरीका मतदाताहरुलाई जनकपुरधाममै मतदान गर्ने सुविधा मिलाइने निर्वाचन आयोगको प्रादेशिक कार्यालयकी प्रमुख पुष्पा झाले बताइन् । माघ १२ गते देशैभरी हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ का ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको उनले जानकारी दिइन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुखहरुले मतदान गर्न पाउनेछन् । प्रदेश २ मा १०४ जना प्रदेशसभा सदस्य तथा २६८ जना स्थानीय तहका प्रमुख र उपप्रमुखहरु छन् ।

कार्यालयको निर्वाचन अधिकृतको रुपमा ब्रजेश प्याकुरेलले पदभार समेत ग्रहण गरेका छन् ।