माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुँदै

जनकपुरधाम, २४ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश २ को अधिवेशन जनकपुरधाममा हुन लागेको छ ।
भोलि शनिबार जनकपुरधाममा हुने उद्घाटन सत्रको लागि तयारी तिव्र पारिएको माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
उनले उद्घाटन सत्रको सम्बोधन भर्चुअल माध्यमबाट केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशको एकसाथ गर्ने जानकारी दिए ।
अध्यक्ष प्रचण्डका अलावा स्थायी समिति सदस्यहरु गिरीराजमणि पोखरेल, मातृका प्रसाद यादव र गणेश साह लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक बुढाथोकीले बताए ।
बुढाथोकीले प्रदेश २ को कमिटी २७१ सदस्यीय रहने जसमा ९ जना पदाधिकारी रहने समेत जानकारी दिए ।
अधिवेशनमा प्रदेश २ का ८ वटै जिल्लाबाट झण्डै १ हजार अधिवेशन प्रतिनिधि सहभागि हुनेछन् । १३६ पालिकबाट ६ सय, आयोजक र मनोनित गरी १ हजार प्रतिनिधि अधिवेशनमा भाग लिने उनले बताए ।
प्रदेश २ मा ३६ पालिकामध्ये हालसम्म ७५ प्रतिशतमा पालिका अधिवेशन सम्पन्न भईसकेको छ भने २५ प्रतिशतमा बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।