जनकपुरधाम, २० मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका असन्तुष्ट जनप्रतिनिधिहरुले नगरप्रमुख लालकिशोर साहको पुत्ला जलाएका छन् ।

सीताराम विवाहपञ्चमी महोत्सवपूर्व पनि नगरक्षेत्र पूर्णरुपले सफा नभएको भन्दै उनीहरुले नगरप्रमुख साहको पुत्ला जलाएका हुन् ।

सीताराम विवाहपञ्चमी महोत्सवको पूर्वसन्ध्यामा परिक्रमा मार्ग नै सरसफाइ नभएको र श्रद्धालु भक्तजनलाई कठिनाई हुने जानकारी सम्बन्धित निकायलाई गराईसकेपनि नगरप्रमुख साहले बेवास्ता गरेकोले विरोधस्वरुप उनको पुत्ला दहन गरिएको वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले बताए ।

वडाध्यक्ष साहले एक महिनापूर्व नै नगरप्रमुख साहलाई जानकारी गराउँदा समेत फोहोर नहटाएकाले बाध्य भएर पुत्लादहन गरेको बताए । उनले वडा नम्बर ४ र ७ मा एक महिनादेखि फोहोर उठाउनका लागि मेयर साहले गाडी नपठाएको गुनासोसमेत सुनाए ।

विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरको पहलमा नगरप्रमुख साहले सरसफाइ अभियान चलाएपनि अहिले पनि नगरको विभिन्न ठाउँमा फोहोरको डंगुर थुपारिएको छ ।