छिमेकीको दाहसंस्कारमा गएका वृद्ध खोलामा डुबेर बेपत्ता
सर्लाही, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्ध खोलामा डुबेर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ७० वर्षीय छित्नु साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार सोमबार दिउँसो लखन्देही सोतीमा नुहाउने क्रममा साहलाई खोलाले बगाएको हो ।
साह छिमेकीको दाहसंस्कारमा सहभागी हुन गएका थिए । दाहसंस्कारमा सहभागी भएपछि उनी नुहाउनका लागि खोलामा पसेका थिए । सोही क्रममा पानीको बहावले उनलाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय लगातार भइरहेको वर्षाका कारण लखन्देही सोतीमा पानीको सतह बढ्नुका साथै बहावसमेत तीव्र रहेको प्रहरीले जनाएको छ ।
साह बेपत्ता भएपछि उनको खोजीका लागि स्थानीय बासिन्दासहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
प्रहरीले खोलाको विभिन्न क्षेत्रमा खोजी कार्य जारी राखेको जनाएको छ ।


