विनय यादवको क्षेत्रिय सभापति बन्ने अभियानमा आफन्तकै बाहुल्य !
जनकपुरधाम, १२ असोज । नेपाली कांग्रेसले ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित पार्टीभित्र नयाँ राजनीतिक संस्कार, पुस्तान्तरण र आन्तरिक लोकतन्त्रको सन्देश अघि बढाइरहेका बेला धनुषाको नगराइन नगरपालिकाबाट उठेको एउटा सांगठनिक प्रश्नले पार्टीको दाबी र स्थानीय अभ्यासबीचको दूरीबारे बहस जन्माएको छ ।
नगराइन नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेसका नेता विनय कुमार यादव धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीसँगै नगराइनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका व्यक्तिहरूको पारिवारिक सम्बन्धलाई लिएर कांग्रेसभित्रै प्रश्न उठ्न थालेको हो ।
कांग्रेसको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको क्षेत्रीय प्रतिनिधिको विवरण हेर्दा नगराइनमा विनय कुमार यादवसँग पारिवारिक रूपमा नजिक रहेका भनिएका व्यक्तिहरूको उल्लेख्य उपस्थिति देखिन्छ । यही सूचीलाई आधार बनाएर स्थानीय कांग्रेस कार्यकर्ताको एउटा तप्काले प्रतिनिधि चयनको प्रक्रिया कति स्वतन्त्र, प्रतिस्पर्धात्मक र संगठन केन्द्रित थियो भन्ने प्रश्न उठाएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगर प्रमुख निर्वाचित भएका थिए । तर, अहिलेको विवाद उनको स्थानीय तहको निर्वाचन जित वा नगर प्रमुखको भूमिकालाई लिएर नभई कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको प्रक्रियामा नगराइनबाट देखिएको प्रतिनिधित्व र त्यसमा उनको पारिवारिक सम्बन्ध रहेका भनिएका व्यक्तिहरूको उपस्थितिलाई लिएर हो ।
कांग्रेसको वेबसाइटमा सार्वजनिक विवरणअनुसार विनोद कुमार यादव वडा नम्बर–८ का सभापतिका रूपमा देखिन्छन् । त्यसैगरी रेणु देवी यादव, रेखा कुमारी यादव, विनय कुमार यादव, सुजित कुमार यादव, रामप्रसाद यादव, उमेश कुमार यादव, रामचन्द्र यादव, गंगाराम यादव, जेशिका यादव, बैकुण्ठ यादव, जयकृष्ण यादवलगायत विभिन्न व्यक्तिहरू क्षेत्रीय प्रतिनिधिका रूपमा सूचीकृत छन् ।
स्थानीयस्तरमा उपलब्ध पारिवारिक विवरणलाई आधार मान्दा तीमध्ये रेणु देवी यादवलाई विनय कुमार यादवकी श्रीमती, रामप्रसाद यादवलाई बुवा, उमेश कुमार यादवलाई भाइ, सुजित कुमार यादवलाई काकाको छोरा, गंगाराम यादवलाई काका, जेशिका यादवलाई छोरी, बैकुण्ठ यादवलाई भतिजा, जयकृष्ण यादवलाई काकाको छोरा र रेखा कुमारी यादवलाई भाइबुहारीका रूपमा चिनाइएको छ ।
यद्यपि, एउटै परिवारका सदस्य पार्टीको अधिवेशनमा प्रतिनिधि बन्नु आफैंमा गैरकानुनी वा पार्टी विधानविपरीत भएको निष्कर्ष निकाल्न मिल्दैन । तर, प्रश्न भने उनीहरू प्रतिनिधि कसरी चयन भए?, उनीहरूले कति मत पाए?, उनीहरूको पार्टीमा रहेको योगदान के हो? र प्रतिनिधि चयनमा कुनै व्यक्तिको प्रभाव प्रयोग भयो कि भएन? भन्ने छ ।
उम्मेदवारीसँगै बढेको प्रश्न
विनय यादव स्वयं धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदमा प्रतिस्पर्धामा रहेकाले नगराइनबाट आएका प्रतिनिधिहरूको संरचना थप चासोको विषय बनेको छ । क्षेत्रीय सभापतिको निर्वाचनमा क्षेत्रीय प्रतिनिधिहरू नै निर्णायक मतदाता हुने भएकाले प्रतिनिधि चयनको प्रक्रियामाथि उठ्ने प्रश्नले उम्मेदवारको चुनावी रणनीतिसँग समेत प्रत्यक्ष सम्बन्ध राख्छ ।
यही कारण नगराइनको प्रतिनिधि संरचनालाई कतिपय कांग्रेस कार्यकर्ताले सामान्य सांगठनिक संयोगका रूपमा मात्र हेर्न नहुने बताएका छन् । उनीहरूले यदि एउटै राजनीतिक नेतृत्वसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूको उल्लेख्य संख्या प्रतिनिधि संरचनामा पुगेको हो भने त्यसको आधार के थियो? भन्ने प्रश्न छ ।
‘कांग्रेस २.०’ र नगराइनको पुरानो शैलीको आरोप
नेपाली कांग्रेसको आधिकारिक वेबसाइटले अहिले ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ र ‘कांग्रेस २.०’ लाई पार्टीको नयाँ सन्देशका रूपमा अघि सारेको छ । वेबसाइटमा सभापति गगन थापाको सन्देशमार्फत नयाँ यात्राको कुरा गरिएको छ ।
पार्टीले १५औँ महाधिवेशनलाई सांगठनिक पुनर्संरचना र नयाँ नेतृत्व चयनको महत्वपूर्ण अवसरका रूपमा अघि बढाइरहेको छ । कांग्रेसको आधिकारिक निर्वाचन कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी अधिवेशन प्रक्रिया अघि बढाइएको छ ।
यस्तो अवस्थामा नगराइनमा देखिएको प्रतिनिधि संरचनाले के कांग्रेसको ‘नयाँ शैली’ केन्द्रमा मात्र सीमित रहने हो कि त्यसको प्रभाव वडा, पालिका र क्षेत्रीय तहसम्म पनि देखिने हो? भन्ने आधारभूत प्रश्न उठाएको छ ।
गगन थापा नेतृत्वको कांग्रेसले संगठनभित्र नयाँ ऊर्जा, पुस्तान्तरण र लोकतान्त्रिक अभ्यासको कुरा गरिरहँदा स्थानीय तहमा पुरानै प्रकारको व्यक्तिगत प्रभाव, गुटगत पहुँच वा पारिवारिक नेटवर्क हावी भएको आरोप उठ्नु पार्टीका लागि स्वभाविक रूपमा असहज प्रश्न हो ।
स्थानीय तहको निर्वाचित नेतृत्वसँग नजिकको पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूको संख्या कुनै विशेष सांगठनिक संरचनामा बाक्लो देखिएमा त्यसले स्वभाविक रूपमा पारदर्शिता र आन्तरिक लोकतन्त्रसम्बन्धी प्रश्न जन्माउन सक्छ । यही ठाउँमा विनय यादवमाथि उठेको प्रश्न पनि जोडिन्छ । उनी नगर प्रमुखसमेत भएकाले स्थानीय सरकारमा रहेको राजनीतिक प्रभाव र पार्टी संगठनमा रहेको सांगठनिक प्रभावबीचको सीमा स्पष्ट रहनुपर्ने राजनीतिक कार्यकर्ताहरूको तर्क छ ।
परिवर्तनको नारा, व्यवहारको परीक्षा
कांग्रेसले अहिले आफूलाई नयाँ ढंगले पुनर्संरचना गर्ने दाबी गरिरहेको छ । पार्टीको आधिकारिक वेबसाइटमै ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने सन्देश प्रमुखताका साथ राखिएको छ ।
कांग्रेसको आफ्नै सिद्धान्तमा आवधिक निर्वाचन, बहुलवाद, लोकतन्त्र, विधिको शासन र आन्तरिक लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धता व्यक्त गरिएको छ ।
त्यसैले ‘कांग्रेस २.०’को वास्तविक परीक्षा केन्द्रीय कार्यालयको नारामा भन्दा पनि स्थानीय तहमा हुने प्रतिनिधि छनोट र नेतृत्व प्रतिस्पर्धामा हुने देखिन्छ ।
नगराइनमा देखिएको प्रतिनिधि संरचनाले यही प्रश्नलाई सतहमा ल्याएको छ—पार्टी बदलिएको हो भने संगठन सञ्चालनको शैली पनि बदलिएको देखिनुपर्छ कि पर्दैन?
विनय यादव क्षेत्रीय सभापतिको उम्मेदवार हुनु आफैंमा लोकतान्त्रिक प्रतिस्पर्धाको विषय हो । उनका परिवारका सदस्य कांग्रेसमा सक्रिय हुनु पनि आफैंमा आपत्तिजनक विषय होइन । तर, एउटै नेतृत्वसँग पारिवारिक सम्बन्ध भएका भनिएका धेरै व्यक्तिहरू एउटै क्षेत्रीय संरचनामा प्रतिनिधिका रूपमा देखिएपछि उठेको प्रश्नको जवाफ भने राजनीतिक दाबीभन्दा बढी प्रक्रियागत पारदर्शिताले दिनुपर्ने हुन्छ ।
कांग्रेसले आफूलाई ‘नयाँ कांग्रेस’का रूपमा प्रस्तुत गरिरहँदा स्थानीय संगठनमा पुराना शक्ति सम्बन्ध, पारिवारिक पहुँच र व्यक्तिगत प्रभावको भूमिका कति छ भन्ने ठूलो प्रश्नसँग जोडिएको छ ।
१५औँ महाधिवेशनको संघारमा कांग्रेसले ‘बदलियो कांग्रेस’ भनिरहँदा नगराइनका प्रतिनिधिहरूको संरचनामाथि उठेको प्रश्नले एउटा कुरा भने स्पष्ट पारेको छ—अब कांग्रेसभित्र नाराभन्दा बढी प्रक्रियाको पारदर्शिता र व्यवहारबाट परिवर्तन प्रमाणित गर्नुपर्ने चुनौती छ ।







