१० फरार प्रतिवादी पक्राउ
जनकपुरधाम, १२ असोज । धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार धनुषा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएका उनीहरूलाई प्रहरीले खोजतलासका क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये दुई जना सवारी ज्यान मुद्दाका रहेका छन् । उनीहरूमध्ये एक जनालाई १९ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तथा अर्का एक जनालाई ४ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, संगठित अपराध मुद्दामा सजाय तोकिएका चार जना पक्राउ परेका छन् । उनीहरूमध्ये दुई जनालाई जनही १ वर्ष ६ महिना कैद तथा ४५ हजार रुपैयाँ जरिवाना र अन्य दुई जनालाई जनही १ वर्ष कैद तथा १० हजार रुपैयाँ जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।
लागूऔषध मुद्दामा सजाय तोकिएका दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये एक जनालाई २ महिना र अर्का एक जनालाई २३ दिन कैद सजाय तोकिएको थियो ।
यसैगरी, ज्यान अंगभंग मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद तथा २० हजार रुपैयाँ जरिवाना तोकिएका एक जना र सवारी ज्यान मुद्दामा १ महिना १५ दिन कैद तथा २ हजार रुपैयाँ जरिवाना तोकिएका अर्का एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि आवश्यक कानुनी कारबाही अघि बढाउन धनुषा जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीले अदालतबाट सजाय तोकिएर फरार रहेका अन्य व्यक्तिको समेत खोजतलास तथा पक्राउ अभियान जारी राखेको जनाएको छ ।


