म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा ५ जनाको मृत्यु

एजेन्सी, २० मंसिर । म्यानमारको सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै, अरू दर्जनौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
म्यानमारको व्यावसायिक राजधानी यांगुनमा सेनाको एउटा ट्रक प्रर्दशनकारीहरूमाथि कुदाइँदा उनीहरूको मृत्यु भएको हो । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गोली प्रहार गरेको थियो ।
फेब्रुअरीमा सेनाको कूपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौंलाई जेल हालिएको छ ।पछिल्लो प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना सञ्चारकर्मी पनि छन् ।
प्रदर्शनकारीमाथि ट्रक चलाइएको विषयलाई सेनाले अस्वीकार गरेको छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएको सरकारको दाबी छ ।
विगतमा सरकारविरुद्ध भएका प्रदर्शनमा सेनाले गोली चलाउँदा ठूलो संख्यामा प्रदर्शनकारीको मृत्यु हुन थालेपछि आजभोलि प्रदर्शनकारीले साना ह्ययाली र भेला आयोजना गर्न थालेका छन् ।