महोत्तरी, ०३ कार्तिक । महोत्तरीको मनराशिशवा नगरपालिकामा एक ६५ वर्षीया महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।

मनराशिशवा नगरपालिका–२ कट्टीकी पुकारी मण्डल मंगलबार दिउँसो करिब २ बजे आफ्नै घरभित्र मृत फेला परेकी हुन् । उनी गजेन्द्र मण्डलकी श्रीमती हुन् ।

घाँस काटेर घर फर्किएका गजेन्द्रले घरमा ताल्चा लागेको देखेपछि ताल्चा फुटाएर भित्र प्रवेश गरेका थिए । सो क्रममा उनले श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले हत्याको सम्भावनासमेतलाई ध्यानमा राखेर अनुसन्धान अघि बढाएको छ ।

यद्यपि, महिलाको मृत्यु हत्या वा अन्य कुनै कारणले भएको हो भन्नेबारे अहिलेसम्म यकिन हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेकाले प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको छ ।

मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ ।