बर्दिबासमा ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीन घाइते
महोत्तरी, ०३ कार्तिक । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा ईभीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मंगलबार भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा.९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास नगरपालिका–१ गालटार बस्दै आएका ४० वर्षीय सुजनबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको छ । उनको मंगलबार दिउँसो १ बजेर ४२ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मगरकी ३५ वर्षीया श्रीमती फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा गम्भीर घाइते भएका छन् ।
त्यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोलका २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन् ।
घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।
ठक्करपछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो । ईभीमा सवार यात्रुहरू भने सकुशल रहेको र उनीहरू गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ईभी चालक फरार भएका छन् । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ का २२ वर्षीय मिलन साह भने प्रहरीको सम्पर्कमा आएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



