जनकपुरधाम, ०३ कार्तिक । जनकपुरधामस्थित राजदेवी मन्दिर परिसरमा बृहत् सरसफाइ गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामलाई स्वच्छ र सफा बनाउने उद्देश्यले राजदेवी मन्दिर परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो ।

Creasion को नेतृत्व तथा कम्युनिटी एक्सन फर रुरल डेभलपमेन्ट नेपाल (CARD Nepal) को कार्यान्वयनमा सञ्चालित उद्यमशाला (Udyamshala – Youth Acceleration Program, YAP) अन्तर्गत अभियान सञ्चालन गरिएको हो ।

जनकपुरधामस्थित जानकी मन्दिर तथा आसपासका धार्मिक र सार्वजनिक क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको आयोजकले जनाएको छ । यसै अभियानअन्तर्गत आज राजदेवी मन्दिर परिसरमा सरसफाइ गरिएको हो ।

धार्मिक स्थलहरूमा दैनिक रूपमा श्रद्धालु तथा दर्शनार्थीको आवागमन हुने भएकाले त्यस्ता क्षेत्रको सरसफाइ र स्वच्छता कायम राख्नु आवश्यक छ ।

यस अभियानले धार्मिक स्थलको स्वच्छता कायम राख्नुका साथै युवामा सामाजिक उत्तरदायित्व र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्ने जनाइएको छ ।

जनकपुरधामको धार्मिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि मन्दिर परिसर तथा आसपासका क्षेत्रलाई सफा राख्न सबै पक्षको सहकार्य आवश्यक छ ।