झिझिया हेर्न गएकी १७ वर्षीया किशोरीको शव पोखरीमा फेला, मृत्यु शंकास्पद
जनकपुरधाम, ०३ कार्तिक । धनुषाको नगराइन नगरपालिका–६ लगमा टोलस्थित पोखरीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ ।
नगराइन नगरपालिका–७ देवडिहाकी राखी कामतीको शव आइतबार पोखरीमा भेटिएको हो ।
प्राप्त जानकारीअनुसार राखी शनिबार साँझ लगमा टोलमा झिझिया नृत्य हेर्न गएकी थिइन् । त्यसपछि आइतबार उनको शव पोखरीमा फेला परेको हो ।
दशैँको अष्टमीका अवसरमा झिझिया हेर्न घरबाट निस्किएकी किशोरीको शव पोखरीमा भेटिएपछि घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ता बढाएको छ ।
मृतकका बुवा सुबोध कामतीले छोरीको मृत्यु शंकास्पद रहेको भन्दै हत्या भएको आशंका व्यक्त गरेका छन् । यद्यपि, किशोरीको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ ।
पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट मात्रै किशोरीको मृत्युको कारणबारे थप तथ्य खुल्नेछ । प्रहरीले घटनाको परिस्थितिबारे अनुसन्धान गरिरहेको छ ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



