जनकपुरधाम, ०३ कार्तिक । बडादशैंको महानवमीका अवसरमा जनकपुरधामस्थित राजदेवी मन्दिरमा १५१ कन्यालाई भोजन गराउने कार्यक्रम आयोजना गरिएको छ ।

महावीर युवा कमिटीले धार्मिक परम्परालाई निरन्तरता दिँदै १० वर्षमुनिका बालिकालाई भोजन गराउने व्यवस्था गरेको हो ।

कमिटीका महासचिव भरत साहले महानवमीको अवसरमा आयोजना गरिएको कन्या भोजन कार्यक्रममा सहभागी हुन जनकपुरधामवासीलाई आग्रह गरेका छन् । उनले आफ्ना १० वर्षमुनिका बालिकालाई लिएर राजदेवी मन्दिरमा उपस्थित हुन नगरवासीसँग अनुरोध गरेका हुन् ।

महानवमीका दिन कन्यालाई देवी भगवतीको प्रतीकका रूपमा पूजा गरी भोजन गराउने परम्परा रहिआएको छ । हिन्दू धार्मिक मान्यताअनुसार कन्या पूजन र भोजनलाई शक्ति उपासनाको महत्त्वपूर्ण अंग मानिन्छ ।

महासचिव साहका अनुसार १५१ कन्यालाई भोजन गराउने कार्यक्रममार्फत धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्य राखिएको छ । उनले यस पुण्य कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन जनकपुरधामवासीलाई आग्रह गरेका छन् ।

जनकपुरधामको प्रमुख शक्तिपीठका रूपमा रहेको राजदेवी मन्दिरमा बडादशैंको अवसरमा दर्शन तथा पूजाआजाका लागि श्रद्धालुको उल्लेख्य भीड लाग्ने गर्छ ।

महानवमीमा विशेष पूजा, बलि तथा धार्मिक अनुष्ठानका कारण मन्दिर परिसरमा थप चहलपहल हुने गर्दछ ।