पुरुष यु–१९ एकदिवसीयको उपाधि लुम्बिनीलाई

काठमाडौं, १९ मंसिर । वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ ।
लुम्बिनीले आइतबार सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि ११३ रनको फराकिलो जित निकाल्दै उपाधि उचालेको हो ।
२१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २८.३ ओभरमा सवै विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।
सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रनको योगदान दिए । कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
लुम्बिनीका लागि अजय चौहानले ५, दुर्गेश गुप्ताले ३ र मोहम्मद हुसेनले २ विकेट हात पारे । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनाल र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका खनालले ५ चौका र ४ छक्काको मद्दतमा ७० रन बनाए ।
५१ रन जोडेका केसीले ६९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दुर्गेश गुप्ताले ३२ र प्रज्जवल थापाले २४ रनको योगदान दिए ।
सुदूरपश्चिमका लागि आकाश चन्दले ३, हेमन्त धामी र शेर मल्लले २–२ तथा नरेन साउँद र राहुल भण्डारीले १–१ विकेट हात पर्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो ।
मंसिर ७ देखि सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितामा ७ टोलीको सहभागिता थियो । लुम्बिनीले समूह विजेता तथा सुदूरपश्चिमले उप विजेतका रूपमा फाइनल खेलेका हुन् ।