सोमबारदेखि प्रदेश २ को निर्वाचन प्रक्रिया सुरु हुने रिजालको दावी

जनकपुरधाम, १९ मंसिर । नेपाली काँग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत सोमबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ का निर्वाचन समितिका संयोजक रमेश रिजालले यस प्रदेशको निर्वाचन गराउनका लागि केन्द्रले आफूलाई पठाएकाले चुनाव सम्पन्न गराएरै छोड्ने दावी गरेका हुन् ।
रिजालले भने,‘आज सप्तरीमा निर्वाचन भईरहेको छ । साँझसम्ममा परिणाम आईसकेपछि भोलीदेखि सर्लाहीमा निर्वाचनको प्रक्रिया सुरु हुन्छ । हामी त्यसपछि प्रदेशको निर्वाचन प्रक्रिया सुरु गर्छौं । कुनै ठाउँ विषेशमा चुनाव नभएकै आधारमा विवादका कारण निर्वाचन रोक्न मिल्दैन् ।’
सात वटा प्रदेश मध्ये ६ वटामा निर्वाचन सम्पन्न भईसकेको र एउटा प्रदेशमा कुनै जिल्ला वा क्षेत्र विषेशका कारणले अधिवेशन रोक्न नमिल्ने रिजालले बताए ।
पर्टीको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको सम्पूर्ण अधिवेशन हुन बाँकी रहेको छ भने सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रिय अधिवेशन हुन सकेको छैन् । त्यस्तै, महोत्तरी क्षेत्र नम्बर–३ को सम्पूर्ण परिणाम रद्द गरि पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भईसक्दासमेत नामावली आउन बाँकी रहेको छ । त्यस्तै, धनुषाको कमला नगरपालिका वडा नम्बर–६ को वडा अधिवेशनसमेत बाँकी रहेको छ ।