जनकपुरधाम, ०९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत वीरगञ्ज कार्यालयले धनुषाको नगराइनमा दर्ता तथा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका औषधि पसलमाथि अनुगमन गरी कारबाही थालेको छ ।

अनुगमनका क्रममा औषधि पसल सञ्चालनका लागि आवश्यक दर्ता, इजाजतपत्र तथा कानुनी मापदण्ड पूरा नगरेका पसलहरू फेला परेपछि टोलीले तत्काल कारबाही गरेको हो ।

अनुगमनका क्रममा सुरेश मेडिकल हल र जय गोविन्द मेडिकल हल लगायतका औषधि पसलमा तालाबन्दी गरिएको अनुगमन टोलीले जनाएको छ ।

औषधि व्यवस्था विभागका अनुसार औषधि पसल सञ्चालन गर्न सम्बन्धित निकायबाट अनिवार्य दर्ता तथा इजाजतपत्र लिनुपर्ने हुन्छ ।

औषधिको बिक्री वितरणसम्बन्धी प्रचलित कानुन र मापदण्ड पालना नगरी सञ्चालन गरिएका पसलबाट औषधिको गुणस्तर तथा प्रयोगमा समस्या आउन सक्ने भएकाले नियमित अनुगमन आवश्यक रहेको विभागको भनाइ छ ।

अनुगमन टोलीले औषधि व्यवसायीहरूलाई कानुनअनुसार आवश्यक कागजात पूरा गरी मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

बिना दर्ता वा मापदण्डविपरीत सञ्चालन हुने औषधि पसलका कारण सर्वसाधारणको स्वास्थ्यमा जोखिम उत्पन्न हुन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि कडाइ गरिने टोलीले जनाएको छ ।

नगराइनमा अझै पनि दर्ता तथा मापदण्ड पूरा नगरी औषधि पसल सञ्चालन भइरहेको हुन सक्ने भन्दै सम्बन्धित निकायले अनुगमनलाई थप विस्तार गर्ने तयारी गरेको छ ।

आगामी दिनमा समेत अवैध तथा मापदण्डविपरीत सञ्चालनमा रहेका औषधि पसल पहिचान गरी आवश्यक कानुनी कारबाही अघि बढाइने जनाइएको छ ।