जनकपुरधाम, १८ मंसिर । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले आफूलाई मन्त्रालयले गाडी उपलब्ध नगराएको गुनासो गरेकी छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै राज्यमन्त्री कर्णले प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चामन्त्री भरत प्रसाद साह र मुख्यमन्त्री लालबाबु राउतलाई जानकारी गराउँदासमेत आफ्नो समस्याको कुनै सुनुवाई नगरिएको कर्णको गुनासो छ ।

गत साउन २ गते राज्यमन्त्रीमा नियुक्त कर्णलाई मन्त्रालयले ज १ झ ४४३ नम्बरको गाडी उपलब्ध गराएको थियो । त्यो गाडी बिग्रिएपछि आफूले मन्त्री साहसँग अर्को गाडी माग्दा नदिएकोले मंसिर १३ गतेदेखि सार्वजनिक गाडी प्रयोग गर्न बाध्य भएको कर्णको दुःखेसो छ ।

राज्यमन्त्री कर्ण चढ्दै आएको गाडी गत सोमबार जनकपुरबाट सप्तरी जाने क्रममा ढल्केवरमा ब्रेकफेल भएर दुर्घटना भएको थियो ।त्यसक्रममा उनी सामान्य घाइते समेत भएकी थिइन् । आफू चढदै आएको गाडी बिग्रिएकाले मन्त्रालयसँग अर्को गाडी माग गर्दा सञ्चारमन्त्री साहको ठाडो निर्देशनमा गाडी उपलब्ध नगराइएको उनले बताइन् ।

‘मन्त्रालयबाट गाडी उपलब्ध नगराएपछि सार्वजनिक गाडी चढेर काठमाडौँ जान बाध्य भएको तथा प्रदेश झर्दा समेत सार्वजनिक सवारी प्रयोग गर्दै आएको बेहोरा जानकारी गराउन चाहन्छु,’ राज्यमन्त्री कर्णद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसबाट आम जनसमुदायमा र प्रदेश सरकारप्रति पर्ने असरमा आफू आत्मआलोचित नहुने पनि जानकारी गराउन चाहन्छु ।’

गाडीको ब्रेक फेल भई आफू दुर्घटनाबाट झण्डै बाँचेको तथा सञ्चार मन्त्रालयमा ८ वटा गाडी हुँदा समेत नपठाएको जानकारी मुख्यमन्त्री लालबाबु राउतलाई गराउन खोज्दा फोनसमेत नउठाएको मन्त्री कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।