हेटौंडा, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी रहेको छ । समाचार तयार पार्दासम्म करिव १ हजार ७ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २ हजार १५३ जना मतदाता छन् । १ हजार ७ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनले मतदान भएको ३ घण्टामा परिणाम आउने पनि बताए ।

सोमबार राति २ बजेबाट मंगलबार बिहान ८ बजेसम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ । एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि ७ जना र ७ सचिवका लागि ९ जनाले उम्मेदवारी दिएका छन् ।