जनकपुरधाम, ३ मंसिर । आज धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा भूतमेलाका लागि बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । तराई मधेसका विभिन्न जिल्ला तथा भारतको केही भागबाट श्रद्धालुहरु स्नानका लागि कमला नदी पुगेका छन् ।

बिहिबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरु कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कमलामा कार्तिक शुक्ल पूर्णिमाको दिन भुत बैताल, देवि देवताहरुको गुहान गर्दा त्यसबाट छुटकारा पाउने भगवानपट्टीका धामी राजेन्द्र दासले बताए ।

धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै आजको दिन अर्थात् कात्र्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा भएको सर्वसाधारण बताउँछन् ।

यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन नयाँ नयाँ धामी झाँक्री बन्ने विश्वास रहेको छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् ।

उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।