जनकपुरधाम, २६ कार्तिक । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको अध्ययन अध्यापन गर्ने तयारी पुरा भएको जनाएको छ ।

गत वर्ष फागुन २५ गते स्थापना गरिएको प्रतिष्ठानले पहिलो चरणमा ल्याब तर्फको जनशक्ति उत्पादन गर्नका लागि वि.एम.एल, नर्सिङ तर्फको वि.एस.सी नर्सिङ तथा पब्लिक हेल्थ तर्फ वि.पी.एचको पठनपाठन एक/दुई दिनमा सुरु गर्ने तयारी गरेको उपकुलपति डा. रामकेवल साहले जानकारी दिए ।

सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भएको उपकुलपति डा. साहले बताए ।जनकपुरधामस्थित मणिपाल शिक्षण कलेजलाई नै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको उनले बताए ।

शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अघि बढाएको छ ।आई.ओ.एमबाट पहिलो पटक स्नातक तहका तीन वटा विषयको अध्ययन अध्यापन अनुमति प्रतिष्ठानले पाएको छ ।

जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याब तर्फका लागि २०/२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ ।