विवाहपञ्चमी महामहोत्सवलाई भव्य बनाउन आग्रह

जनकपुरधाम, २६ कार्तिक । जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सवलाई भव्य बनाउनका यसवर्ष पनि सात दिवसीय विविध कार्यक्रमहरुको आयोजन गरिने भएको छ ।
आगामी मंसिर २२ गते सिताराम विवाहपञ्चमी महामहोत्सव हुने भएकाले अहिलेदेखि नै तयारी थालिएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।
एक सातासम्म विभिन्न कार्यक्रम हुने भएकाले यस वर्ष मंसिर १७ गतेदेखि नै विवाहपञ्चमी महामहोत्सव सुरु हुने महन्त दासले बताए ।उनले यसवर्ष विवाहपञ्चमीमा भारतलगायत अन्य मुलुक तथा आन्तरिक श्रद्धालु भक्तजनहरुको उल्लेख्य भिडभाड हुने भएकाले अहिले देखि नै व्यवस्थापनसहितको तयारी थालिएको बताए ।
महन्थ दासले गतवर्ष कोरोना महामारीका कारण विवाहपञ्चमी औपचारिकतामा मात्र सिमित भएकाले यसवर्ष भव्यताका साथ मनाउने उद्देश्य रहेको बताए । यसका विभिन्न १९ वटा समिति तथा उपसमितिहरु गठन गरिएका छन् ।
जानकी मन्दिरमा शुक्रबार आयोजन गरिएको सर्वपक्षीय बैठकमा महन्त दासले विवाह पञ्चमी महामहोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, श्रद्धालुभक्तजनको भिडभाडको व्यवस्थापन सहित बसोबासको व्यवस्थापन, विद्युत आपूर्तिलगायतका लागि समिति गठन गरिएको बताए ।
फोहोर व्यवस्थापन, र शौचालय व्यवस्थापनमा जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्त दासले सरोकारवालालाई गम्भिरताका साथ ध्यान पुर्याउन आग्रह समेत गरे । विवाहपञ्चमी महामहोत्सवलाई भव्य बनाउन आवश्यक सहयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समेत उनले आग्रह गरे ।
यसवर्ष मंसिर १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ–विवाह र २३ गते रामकलेवाको आयोजना गरिने छ ।