जनकपुरधाम, २६ कार्तिक । जनकपुरधामस्थित एक निजी विद्यालयमा अज्ञात समूहले आगजनी गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ पुलचोकस्थित शिव शारदा सेकेण्ड्री इङ्गलिश बोड्रिङ्ग स्कूलमा अज्ञात समूहले आगजनी गरेका हुन् ।

शुक्रबार बिहान विद्यालयको कार्यालयको ताला तोडर सम्पूर्ण सामानलाई एउटा सोफामा राखी आगजनी गरिएको अवस्थामा विद्यालयका सञ्चालक सुजित मिश्रले देखेका थिए । स्कुलको अफिसको ताला तोडेर कसैले आगजनी गराएको हुन सक्ने सञ्चालक मिश्रले बताए ।उनले आफूहरु घरमा नरहेको अवस्थामा अज्ञात समूहले विद्यालयमा आगजनी गरेको जानकारी दिए ।

आगलागीबाट करिब १० लाख रुपैयाँको भौतिक क्षति भएको बताइएको छ । आगलागीबाट विद्यालयको तीनवटा दराज, दुई थान सोफा, विद्यालयका महत्वपूर्ण कागजपत्र, टेलिभिजन, दुई थान प्रिन्टर, प्रअ बस्ने कुर्सी, टेबल जलेको प्रहरीले जनाएको छ ।

विद्यालय प्रवेश गर्ने मुख्य गेट, अफिस छिर्ने गेट, अफिसको बाहिरबाट ताला लागेर बन्द रहेको अवस्थामा ताला फोडेर आगलागी गरिएको बताइएको छ । प्रधानाध्यापकको कोठामा भएको आगलागीबाट स्थापनाकालदेखिको स्कुलको सबै रेकर्ड जलेर खरानी भएको छ ।

विद्यालयका सञ्चालक मिश्रले शैक्षिक संस्थामा आगजनी गरेर लाखौं रुपैयाको क्षति पु¥याउने दोषी पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएको बताए ।