जनकपुरधाम, २० कार्तिक । यमपञ्चकको पाँचौं दिन आज भाइटीका मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिनको रूपमा लिने गरिन्छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गरिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

भाइटीका लगाउने उत्तम साइत पनि सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको हो । कात्तिक २० गते, बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको समितिले जनाएको छ ।कात्तिक २० गते दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा रहिआएको छ ।

मिथिलाञ्चलमा यो पर्वका दिन बहिनीले भाईको निधारमा पिठार(चामललाई पानीसंगै पिँधेर बनाइएको लेदो) र सिंदुरको टिका लगाएर उज्वल भविष्यको कामना गर्ने गर्छिन् । भातृद्वितियाका दिन बहिनीहरुले भाई आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रण दिने गर्छिन् । बहिनीहरुले सिन्दुर, पिठार, लगाएर कुभिण्डोको फूल, पानको पात, सुपारी र जल भाईको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाई के नाम ) भाई के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाई सभक औरदा बढ़ए’ अर्थात गंगाले यमुनालाई निमन्त्रण दिइन् मैले आफ्नो भाईलाई भन्दै हात पखाल्छिन् । बहिनीले पूजा गरेपछि भाईले वहिनीलाई यथाशक्ति उपहार दिन्छन् र उनको घरको अन्न खाए्र बहिनीलाई सन्तुष्टि प्रदान गर्छन् ।

भातृद्वितियामा अरिपनको विशेष महत्व

भातृद्वितिया पर्वको क्रममा बनाइने अरिपन यो पर्वलाई विशेष र पृथक बनाउँछ । यो अरिपन षटदल कमल आकृतिको हुन्छ । पीढीको अगाडी कमलको फूल कोरिएको अरिपनमाथि कटोरा राखिएको हुन्छ । लोटामा जल राखिएको हुन्छ जसमा पान, सुपारी, कुभिण्डोको फूल फूल आदि राखिएको हुन्छ । सोही अरिपनमाथि भाईलाई बसाएर भाईलाई पूजा गरिन्छ । दिपावली र छठपर्वको बिचमै पर्ने यो पर्वले मिथिलाञ्चलवासीको हर्षलाई अझै बढाउँछ । दिपावली पर्वलाई लिएर घर आँगन लिपपोत गरिएकै हुन्छ यद्यपि वहिनी आफ्नो भाईको स्वागतका लागि घर आँगन गाईको गोबरबाट लिपपोत गर्छिन ।

भातृद्वितियाको कथा

यो पर्वलाई लिएर एउटा कथा प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो । छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो भाई यमराजलाई अगाध स्नेह गर्थिन् । भनिन्छ यमुनाले पटक पटक आफ्नो भाई यमसंग निवेदन गर्थिन आफ्नो ईष्ट मित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे । यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितिया तिथि आयो । यमुनाले सोही दिन भाई यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनवद्ध गरिन् ।

यमराजले सोचे म सबैको प्राण लिन्छु । मलाई कोही घर बोलाउन चाहँदैनन् । वहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो । यमराजलाई आफ्नो घर आएको देखेर यमुना औँधी खुशी भइन । यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यंजन भाई यमलाई खानका लागि दिइन । यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माँग्नलाई भने ।

यमुनाले भाई यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । म जस्तै बहिनीले यो दिनमा आफ्नो भाईलाई आदर सत्कार गरी टीका गर्छिन भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।